विराटनगर- विराटनगरमा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले गत वैशाख १८ गतेदेखि निषेध आदेश लगाएको छ। निषेध आदेशका कारण लामो समयदेखि दैनिक ज्यालामजदुरी गर्नेहरु समस्यामा पर्दै गएका छन्।
कोरोनाको पहिलो लहरको समयमा लकडाउन गरेको एक साता पछि राहत पाएका ज्यालामजदुरी गर्नेहरू यसपटक लामो समयसम्म राहत नपाउँदा दैनिक जीवन यापनमा समस्या भएको बताउने गरेका छन्। कोरोना महामारीका कारण जारी गरिएको निषेध आदेशका समयमा पनि सरकारले राहत वितरण नगरेपछि समस्यामा परेका विपन्न नागरिकलाई लक्षित गरेर आइतबारदेखि विराटनगरमा सञ्चालनमा ल्याइएको फुड बैंकमा ज्यालामजदुरी गर्नेहरू ठेलमठेल गर्दै राहतका लिनेको लाइनमा थिए।
शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछिमा बैंक सञ्चालनमा ल्याएर विपन्न नागरिकलाई राहत प्रदान गर्न थालेको छ। महामारी नियन्त्रणका लागि गरिएको निषेध आदेशको समयमा परिवार धान्न नसकेर समस्यामा परेका विपन्न नागरिकलाई सहयोग गर्न थालिएको शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रालिका म्यानेजर सीताराम बर्तौलाले जानकारी दिए। उनका अनुसार ‘हुनेले दिने, नहुनेले लिएर जाने’ नारा दिएर अभियानका रुपमा अघि बढाउने गरी यसको सुरुवात गरिएको हो।
दैनिक दुई सय जनालाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यका साथ फुड बैंकको स्थापना गरिएको बर्तौलाको भनाइ छ। एक जनाले दुई किलो चामल, आधा किलो दाल र एक किलो नुन पाउने छन्। अन्यत्रबाट सहयोग जुटेमा राहत सामग्रीको परिणाम बढाएर वितरण गरिने उनले बताए।
शिखर अर्गनाइजेसनअन्तर्गतका नटराज एग्रो प्रालि, तुलसी बहुमुखी सहकारी संस्था, गोर्खा टी एण्ड कफी, तुलसी इण्डस्ट्रिज प्रालि र शिव शिखर एग्रो प्रालिको संयुक्त पहलमा फुड बैंकको स्थापना गरेको शिखर अर्गनाइजेसनका जनसम्पर्क अधिकृत राम लिम्बूले बताए। दैनिक बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुने फुड बैंक सञ्चालनका दिन नै उल्लेख्य भीड लागेको थियो।
विराटनगरमा शब्जी पसल गर्दै आएकी धनमाया राईले परिवार धान्न मुस्किल परिरहेको गुनासो गरिन्। परिवार चलाउन शब्जी व्यापार गर्नैपर्ने उनको बाध्यता छ। तर निषेधाज्ञाका कारण कमाइ नहुँदा उनको परिवार समस्यामा पर्न थालेको छ।
महामारीका कारण दैनिकी कष्टकर बनिहेका बेला थोरै भए पनि राहत पाउँदा खुशी लागेको उनले बताइन्। निषेधाज्ञाका समयमा यसपटक सरकारले राहत वितरण नगर्दा थप समस्यामा परेको राईको गुनासो छ।
लामो समय वितेपनि सरकारले राहत नदिएको विराटनगर ५ का मनोज मगरले गुनासो गरे। होटल मजदुरका रुपमा कार्यरत मगरले काम नहुँदा दैनिक जीवन यापनमै समस्या भएको उनले बताए। मगरले भने, ‘स्थानीय सरकारले मजदुर, विपन्नका लागि केही गर्न सकेन।’