जनकपुरधाम- प्रदेश २ मा सत्ता समीकरण फेरबदल हुने संकेत देखिएका बेला जनता समाजवादी पार्टीले संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकमा संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपा स्रोतले जनाएको छ।
बैठकमा सहभागी जसपाका एक नेताले बैठकबाट जसपा संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको जानकारी दिए।
केन्द्रमा महन्थ पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चाका बीच अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनुका साथै संसदीय दलको नेता समेत चयन गराएका हुन्।
बैठकमा तत्कालीन समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनाले सो निर्णयमा हस्ताक्षर गरेका छन्। साथै अन्य केही प्रदेशसभा सदस्यहरूलाई समेत आफ्नाे पक्षमा ल्याउने तयारी भइरहेको छ।
३६ भन्दा बढी प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित आजै प्रदेशसभा सचिवालयमा लालबाबु राउत नेता चयन गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दिने तयारी छ। यद्यपि जसपाको बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयहरूलाई फुटाएर मन्त्रालयको संख्यासमेत बढाउने तयारी चलिरहेको छ।
जसपा स्रोतका अनुसार सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक र स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग, वन तथा वातावरण र पर्यटन मन्त्रालय बनाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएर भूमि, कृषि र सहकारी मन्त्रालय अलग-अलग बनाउने तयारीसमेत भइरहेको छ।