काठमाडौं- सरकारमा हुँदा विवादित बनेका तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले सबै दायित्व पूरा गरेको दाबी गरेका छन्। नेपाल ट्रष्टका जग्गा यती समूहलाई दिन र स्वास्थ्य सामग्री खरिदबाट आफूले कमिसन पाउने गरी ओम्नी ग्रुपलाई ठेक्का दिएको विषयमा विवादित बनेका मन्त्री पोखरेलले फेसबुकमा स्टाटस लेख्दै यस्तो दाबी गरेका हुन्।
आफूलाई विवादमा पारिएकोमा आफ्नो असन्तुष्टि रहेको संकेत गर्दै उनले आफूले गरेका सबै कामको सम्बन्धित ठाउँमा अभिलेख सुरक्षित रहेको र तिनले मात्र यथार्थ बताउने उल्लेख गरेका छन्। 'सम्बन्धित ठाउँमा औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन्,' पोखरेलले स्टाटसमा लेखेका छन्, 'तिनले आज मात्र नभएर आवश्यक पर्दा पछिपछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु।'
मन्त्री पोखरेल 'उच्चस्तरीय समन्वय समिति' र 'कोभिड १९ संकट व्यवस्थापन केन्द्र'को संयोजक भएर काम गरेका थिए। तर उनको भूमिकाप्रति सधैँ आलोचना हुने गरेको थियो। सुरुमा रक्षामन्त्रीसहित उपप्रधानमन्त्री रहेका पोखरेललाई पछिल्लो समय प्रधानमन्त्री ओलीले कुनै मन्त्रालयको जिम्मेवारी नदिएर भूमिकाविहीन उपप्रधानमन्त्री बनाएका थिए।
सरकारमा हुँदा विवादित बनेका तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले सबै दायित्व पूरा गरेको दाबी गरेका छन्।