काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १५ जना स्थायी कमिटी सदस्यहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पार्न माग गरेका छन्। शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीबाटै उपप्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्ट पार्नुपर्ने माग गरेका हुन्।
शुक्रबार उपप्रधानमन्त्री पदमा नियुक्त भएका राजेन्द्र महतोले सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नेपाल बहुराष्ट्रिय राज्य भएको त्यसका लागि तयारी गर्ने बताएका थिए। यसपछि शनिबार पार्टी कार्यलयमा बधाई ग्रहण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेपाल बहुराष्ट्रिय राज्य भएको दोहोर्याएका थिए।
'सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोऱ्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिन निन्दनीय छ,' १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ।'
महतोका अभिव्यक्तिले संविधानको धारा ३ विरुद्ध भएको र कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने उनीहरूको भनाइ छ। वक्तव्यमा जारी गर्ने स्थायी कमिटी सदस्यहरू माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका हुन्।
