काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले फेरि नेपाल बहुल राष्ट्रिय राज्य भएकाले यसैअनुसारको संवैधानिक व्यवस्था हुनुपर्ने अभिव्यक्ति दिएका छन्। शुक्रबार राति पदभार ग्रहण गर्नेबित्तिकै महतोले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने पार्टीको एजेन्डा रहेको बताएका थिए। त्यसको सर्वत्र विरोध भइरहेको छ।
उपप्रधानमन्त्रीमा नियुक्त भएपछि शनिबार पार्टी कार्यालय बबरमहलमा जसपाले आयोजना गरेको स्वागत कार्यक्रमपछि पत्रकारसँग महतोले भने, ‘नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसका जनता सहभागी हुनुपर्छ। बहुल राज्य नभए जनताले अधिकार र पहिचानका लागि आन्दोलन गरिरहनेछन्।’
राज्य शासनमा सबैको प्रतिनिधित्व नभएसम्म जनताले अधिकार पहिचानका लागि संघर्ष गरिरहने भनाइ राखे। उनले भने, ‘नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ, बनाउनुपर्छ। जहाँजहाँ कमी कमजोरी छ। जहाँजहाँ विभेद छ। जहाँजहाँ एकल जातीय राज्य सञ्चालन गर्ने, एकल जातीय हिसाबले जहाँ प्रभाव परेको छ। त्यसलाई बहुलतामा लैजानुपर्छ। यो सबैको देश हो।’
बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै महतोले बहुलतामै लैजानुपर्ने दाबी गरे। उनले भने, ‘‘नेपाल भनको बहुल राष्ट्रिय राज्य भएकाले सोहीअनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ।’ महतोले बहुलता सबैको भएकाले त्यसले मात्र राज्य शासनमा प्रतिनिधित्व हुने बताए। उनले पहिचान सबैको हुनुपर्ने भन्दै यो नभए देशमा जनताले अधिकार र पहिचानका लागि आन्दोलन गर्ने उल्लेख गरे।