पर्सा- मानव वेचबिखनमा संलग्न रहेको अभियोगमा नेपाली श्रीमतीसहित भारतीय नागरिक पक्राउ परेका छन्। बिहीबार प्रहरीले उनीहरूलाई वीरगञ्जको इनर्वा नाकाबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारत विहार पूर्वी चम्पारण ठेगाना भएका २७ वर्षीय अस्गर सैफी र उनकै श्रीमती तनहुँ दमौली नगरपालिका-५ ठेगाना भएकी २६ वर्षीया सकिना खातुन भन्ने सीता थापा क्षेत्री रहेका छन्।
उनीहरूले गोरखा घर भएका २ जना महिलालाई बाँके नेपालगञ्जको मन्दिरमा कन्यापूजा गर्न १ घण्टाको लागि कन्याको रूपमा गएबापत जनही ५० हजार रुपैयाँ दिने भनी ललाईफकाई नेपालगञ्जसम्म लगेका थिए। यसपछि पैसा लिन वीरगञ्ज जानुपर्छ भनी झुक्याएर वीरगञ्ज महानगरपालिका-१६ स्थित ईनर्वा नाकासम्म पुर्याएका थिए।
त्यहाँ पुगेपछि पुनः भारतको बेतियामा गए मात्र पैसा पाइन्छ भनेकाले दुवै जना महिला भारत जान तयार भएका थिए। सीमा पार गराउन लाग्दा प्रहरीले उनीहरूको चेकजाँच गर्यो। यसै क्रममा दुवै महिलालाई उद्धार गरी प्रहरीले सैफी दम्पतीलाई पक्राउ गरेको हो।
उनीहरूउपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसुर गरेको अभियोगमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।