काठमाडौं- सरकारले पछिल्लो समय मलको समस्या नरहेको दाबी गरेको छ। किसानलाई मलको समस्या भइरहेको भन्ने समाचार आइरहेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर मलको समस्या नरहेको दाबी गरेको हो।
मन्त्रालयले कृषि सामाग्री कम्पनी लिमिटेड कार्यालयमा पत्रकार सम्मेलन गर्दै मलको अभाव नरहेको र निषेध आदेशका कारण ढुवानीमा आएको अवरोध पनि हटाइसेको दाबी गरेको छ। मन्त्री पद्मा अर्यालले मलको अभाव नरहेको भन्दै ढुवानीमा आएको अवरोध पनि हटाइसकेको जिकिर गरिन्। ‘कोभिड–१९को दोस्रो लहरको प्रकोपका कारण भएको निषेध आदेशले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको गुनासो आउनेबित्तिकै त्यसको समाधान गरिसकिएको छ’ मन्त्री अर्यालले भनिन्।
त्यस्तै सरकारी अनुदानमा मलको आयात गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि रासायनिक मलको समस्या नरहेको जानकारी गराएको छ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग गरी हाल जम्मा ३५ हजार २९० मेट्रिक टन यूरिया, ५३ हजार ७३० मेट्रिक टन डिएपी र ८ हजार ४२ मेट्रिक टन पोटास मौज्दात रहेको छ।
त्यस्तै ६५ हजार मेट्रिक टन यूरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको जानकारी गराएको छ।
मौज्दात रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग २० हजार ८६ मेट्रिक टन यूरिया, ३९ हजार २८६ मेट्रिक टन डिएपी र ४ हजार १४६ मेट्रिक टन पोटास रहेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल १५ हजार २०४ मेट्रिक टन यूरिया, १४ हजार ४४४ मेट्रिक टन डिएपी र ३ हजार ८ सय ९६ मेट्रिक टन पोटास रहेको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिइन्।
रासायनिक मलको अभाव नरहेको र ढुवानीमा देखिएको समस्या पनि सरकारले समाधान गरिसकेकाले ढुक्क रहन कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले आश्वासन दिए।
यसअघि शुक्रबार मलको अवस्थाबारे बुझ्न कृषि तथा पशुपन्छी विकासमन्त्री अर्याल, मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीलगायतको टोलीले कृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा अनुगमन गरेको थियो।
काठमाडौंमा सरकारी गोदाममा अनुगमन गरे पनि किसानले मल पाउन सास्ती खेप्नु परेको छ।