चार वर्ष लामो प्रतिक्षा समाप्त गर्दै विश्वकप फुटबलको २१ औं संस्करण शरु भएको छ । रुसमा पहिलोपटक हुन लागेको यो विश्वकपमा ३२ देश सहभागी छन् । प्रतियोगिता अन्तर्गत हुने ६४ खेलमा सात सय ३६ खेलाडी सहभागी हुनेछन् ।
विश्वकपको इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको यस प्रतियोगिताको उद्घाटन भव्य हुने आयोजक फिफाले जनाएको छ । फिफाका अनुसार यसपालिको उद्घाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतीहरूमा केन्द्रित हुनेछ ।
संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रूपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् ।
दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्वस्टार रोनाल्डो उद्घाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् । समारोहमा पाँच सय डान्सर, जिम्न्यास्ट र कलाकारहरूका प्रस्तुती समावेश हुने बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश विश्वकप आयोजनाका लागि पूरा तयार भइसकेको घोषणा गरेका छन् ।
एक महिनासम्म चल्ने विश्वकप प्रतियोगिता मस्कोसहित १० शहरका १२ रंगशालामा हुनेछ । यसपटक पनि पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साविक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरू फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ ।
उद्घाटन खेल कसले जित्ला
नेपाल समयले गरेको फेसबुक पोलिङमा रसियाले उद्घाटन खेल जित्ने अनुमान भएपनि दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रँदैछन् । ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भनेझैं पहिलो खेलमा विश्वकपको मजा दिनुपर्ने चुनौतीमा रुस र साउदी अरेबिया छन्।
समूह ‘ए’को पुछारमा रहेका टिमको खेल उद्घाटन खेल भएकाले पनि धेरैले हेर्ने अनुमानछ । आयोजक राष्ट्र भएकाले रुस स्वतः विश्वकप छनोटमा परेको हो भने साउदीले छनोट चरण पार गरेर आएको हो ।
आयोजक रुसलाई गृहमैदानको पहिलो खेल जित्नैपर्ने दबाब छ । रुसी खेलाडीलाई गृहमैदान भएकाले समर्थकहरूको पनि ठूलो साथ रहनेछ । त्यसबाट खेलाडीहरूलाई राहत मिल्ने अनुमान छ ।
यी दुवै टिम यसअघि सन् १९९३ को मैत्रिपूर्ण खेलमा एक पटक मात्रै आमनेसामने भएका थिए । त्यस खेलमा साउदीले रुसलाई ४–२ ले पराजित गरेको थियो ।
तर, साउदीका प्रशिक्षक जउन एन्टोनियो पिजीले गृहमैदानमै रुसका समर्थकहरूको मुख बन्द गराउने बताए । उनले भने, ‘हामी रुसका समर्थहरूलाई मुख खोल्ने मौका पनि दिने छैनौं ।’
आफ्नो उद्देश्य रुसलाई जसरी पनि पछार्ने रहेको उनले बताए । पिजीले थपे, ‘हामी गृहमैदान भन्दैमा त्रसित भएका छैनौं ।’
रुस फिफा र्यांकिङमा आफ्नो विपक्षी साउदी अरेबियाभन्दा तीन स्थान तल अर्थात् ७०औं स्थानमा छ । सन् २००६ पछि साउदी अरेबिया कुनै पनि विश्वकपमा सहभागिताका लागि योग्य भएन ।
तर, १२ वर्षपछि विश्वकपमा फर्किएको साउदीले खेल जित्ने निश्चित भएको दाबी गरेको छ । प्रशिक्षक पिजीले आफ्ना खेलाडीहरूले शुरुवाती खेल सजिलै हात पार्ने दाबी दोर्याए । उनले भने, ‘हामीले रुसका लागि खलनायक बन्ने रणनीति र रुसलाई आफ्नो शाख बचाउन मुस्किल हुने स्थितिमा पुर्याउने छौं ।’
रुस ६० वर्षअघि अर्थात् सन् १९५८ देखि विश्वकपमा सहभागी हुन थालेको हो । साउदी अरेबियाले २४ वर्षअघि (सन् १९९४मा) विश्वकपमा प्रवेश पाएको हो । दुवै मुलुक यसअघिका विश्वकप विजेता या उपविजेता होइनन् ।
रुसको विश्वकप यात्रा त्यति लोभलाग्दो छैन । सन् १९६६ मा चौथो स्थानको उपाधि नै रुसका लागि सबैभन्दा ठूलो जित हो । र, साउदी पनि धेरै पछि विश्वकपमा सहभागी भएर पछिल्लै लहरमा उभिएको टिम हो ।
पुरस्कार कति
प्रतियोगितमा ४० करोड अमेरिकी डलरको पुरस्कार वितरण गरिने भएको छ । प्रतियोगितामा सहभागी भएका टिमदेखि विश्व च्याम्पियनसम्मलाई ४० करोड अमेरिकी डलरको पुरस्कार दिइने भएको हो । विश्वकप विजेताले ३ करोड ८० लाख डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) पुरस्कार पाउनेछ भने उपविजेताले २ करोड ८० लाख अमेरिकी डलर हात प्राप्त गर्नेछ ।
तेस्रो हुने टोलीले २ करोड ४० लाख र चौथो हुनेले २ करोड २० लाख अमेरिकी डलर पाउने फिफाले जनाएको छ । क्वार्टरफाइनल अर्थात् अन्तिम ८ मा पराजित हुने ४ टोली प्रत्येकले १ करोड ६० लाख डलर प्राप्त गर्नेछन् ।
अन्तिम १६ मा पराजित हुने ८ टोली प्रत्येकले १ करोड २० लाख र समूहगत चरणमै रोकिने प्रत्येक टोलीले ८०/८० लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि तयारीका लागि पाउने रकमसमेत जोडिएको हुन्छ ।
ब्राजिलमा सन् २०१४ मा भएको २० औं संस्करणको प्रतियोगितामा भन्दा यसपटक करिब १२ प्रतिशतले पुरस्कार राशीमा वृद्धि गरिएको छ ।
अघिल्लो विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जे्न्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४