काठमाडौं- वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघले खाइपाई आएका सुविधा कटौती हुने गरी सामाजिक सुरक्षा योजनामा सहभागी दबाब दिइएको भन्दै आपत्ति प्रकट गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीले यसरी दबाब दिनु अनुचित भएको ठहर गरेको छ।
'नयाँ युगको सुरुवात' गर्नुभन्दा पहिल्यैदेखि सामाजिक सुरक्षा कोषका भन्दा आकर्षक सामाजिक सुरक्षा पाइरहेका वित्तीय संस्थाका कर्मचारीलाई जबरजस्ती योजनामा सहभागी गराउन लागिएको भन्दै संघले आपत्ति प्रकट गरेको छ।
'यस योजना जोड्न मरिहत्ते गरेर लाग्नु सामाजिक सुरक्षा कोष राज्यले परिकल्पना गरेको योजना र उद्देश्यविपरीत हिँडेको भान हुन्छ,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्ता गतिविधिले कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ पार्दैन र!'
योजनामा सहभागी हुन जबरजस्ती गरिनु कानुनी दादागिरी भएको समेत संघको ठहर छ। सामाजिक सुरक्षा कोषले हालसम्म भुक्तानी गरेको तथ्यांकले कोषले दिने सुविधा झारा टार्ने खालका मात्र भएको समेत आरोप संघले लगाएको छ।
जबरजस्ती कोषमा आवद्ध हुन बाध्य गर्ने गतिविधि बन्द नगरिए आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ। संस्थामा ४८ वित्तीय संस्थाका कर्मचारी आवद्ध भएको बताइएको छ।