विराटनगर- सिकार खेल्नेक्रममा भरुवा बन्दुकले लागेर साथीको मृत्यु भएपछि फरार रहेको एउटा समूहलाई मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले विशेष ‘सर्च अप्रेसन’ सञ्चालन गरेर मोरङको केराबारी र लेटाङबाट चार जनालाई पक्राउ गरेको हो। बुधबार साँझ पक्राउ परेकाहरुले विभिन्न स्थानमा लुकाएर राखेको चार नाल भरुवा बन्दुक पनि बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।
पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू छन्। पक्राउ परेकाहरु वन्यजन्तुको चोरी सिकारीमा संलग्न गिरोह रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। राईका अनुसार वन्यजन्तुको सिकार खेल्न सँगै गएका साथीको बन्दुकको छर्राले लागेर मृत्यु भएपछि उनीहरु रुख र ढुंगाको चेप तथा ओढारमा बन्दुक लुकाएर फरार भएको खुलेको छ।
प्रहरीका अनुसार गत वैशाख ८ गते राति १० जनाको समूह केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा वन्यजन्तुको सिकार खेल्न गएको खुलेको छ। सिकार खेल्ने क्रममा साथीले मृगलाई ताकेर हानेको बन्दुकले लागेर केराबारी–३ का ३२ वर्षीय हस्त राईको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। ३७ वर्षीय गजेन्द्र राईले मृगलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा हस्तको मृत्यु भएको थियो।
घटना भएको भोलिपल्टै प्रहरीले सिकार खेल्न गएकामध्ये गोली प्रहार गर्ने गजेन्द्र र २६ वर्षीय रुविन लिम्बूलाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको थियो। उनीहरुविरुद्ध ज्यानसम्बन्धी र हातहतियार खरखजना कसूरमा प्रहरीले अनुसन्धान थालेपछि सिकार खेल्न गएको समूहका बारेमा खुलेको प्रहरीले जनाएको छ।
