काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटी बैठकमा केपी शर्मा ओली पक्षसँग संवाद गरिरहेका नेताहरुले ब्रिफिङ गरेका छन्। उनीहरूले वार्ताका नाममा ओलीले अलमल्याउन मात्र खोजिरहेको आफूहरुले पाएको ब्रिफिङ गरेका हुन्।
नेपाल पक्षका नेताहरूले केही दिनअघि सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई ओली पक्षका दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए। ओली पक्षसँग अनौपचारिक संवाद गरी सर्वोच्च अदालतको फैसला अनुसार पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन पहल गर्नका लागि ओली पक्षसँग वार्ता बसिएको उनीहरूले बताएका थिए।
'वार्तालाई आफ्नो अनुकुल बनाउने हिसाबले मात्रै ओलीले प्रयोग गरिरहेको देखियो,’ नेताहरुको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘छलफल भए पनि एकता कायम रहनेमा आशावादी हुने अवस्था देखिएको छैन।’
ओली पक्षले निरन्तर रुपमा छलफल गरौं भन्ने प्रस्ताव राखेपछि आफूहरुले पनि पार्टी एकता जोगाउन सकिन्छ कि भनेर छलफल गरेको नेताहरुको प्रष्टीकरण थियो। केन्द्रीय सदस्यहरुले ओली पक्षसँग भइरहेको वार्ताका बारेमा प्रष्ट पार्न भने पछि नेताहरुले आफ्नो धारणा राखेको ती केन्द्रीय सदस्यले जानकारी दिए।
वार्तामा रहेका नेताहरुले केही दिन पर्खिनु पर्ने र केही सिप नलागे आवश्यक निर्णय गरेर अघि बढ्नुवर्ने धारणा व्यक्त गरेका छन्। अहिलेसम्म बोल्ने केन्द्रीय सदस्यहरुले ओलीका सामू कुनै पनि हालतमा शर्तका साथ झुक्न सक्ने अवस्था नै नरहेको भन्दै नेतृत्वलाई कमजोर भएर प्रस्तुत नहुन सुझाव दिएका थिए।
वार्तामा बसेका नेताहरुपछि नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले आफ्नो भनाइ राखेका थिए। दुवै नेताहरुले पार्टी फुटाउन हतार गर्न नहुने भन्दै ओलीविरुद्ध थप शसक्त रुपमा संघर्ष गर्नुपर्ने धारणा राखेको बताइएको छ।
ओली पक्षसँग केही नेताहरुले गरिरहेको वार्ता र आगामी रणनीति कसरी तय गर्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो। बैठक अहिले पनि जारी छ।
