काठमाडौं- अर्थसचिव शिशिरकुमार ढुंगानाले ५ अर्बभन्दा बढी लागतका ठूला आयोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र बनाउने तयारी गरेको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र उद्योग संगठनले संयुक्त रूपमा आयोजना गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थसचिव ढुंगानाले ५ अर्ब रुपैयाँभन्दा बढी लागतका ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनका लागि छुट्टै संयन्त्र खडा गर्न लागिएको जानकारी दिएका हुन्।
'हामीले पाँच अर्बभन्दा माथिका ठूला आयोजनाहरूको कार्यान्वयका लागि एउटा छुट्टै संयन्त्र बनाएर अगाडि बढिरहेका छौँ। उक्त संयन्त्रले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र रणनीतिक आयोजनाहरूसमेतको कार्यान्वयको पाटो हेर्ने छ,' अर्थसचिव ढुंगानाले भने।
उनका अनुसार यो संयन्त्रले आगामी आर्थिक वर्षको सुरुबाट काम सुरु गर्नेछ। उनले जेठ १५ मा बजेट सार्वजनिक गरेर जेठ १७ देखि नै कार्यान्वयनको काम थालिएको बताए।
'आठ वटा मन्त्रालयका सचिवहरूसँग बजेट कार्यान्वयनका लागि छलफल भइसकेको छ। बजेटमा राखिएका कार्यक्रमलाई कायान्वयनका लागि आवश्यक पर्ने कार्यविधि बनाउनका लागि अर्थ मन्त्रालयले सहमति पनि दिइसकेको छ,' उनले भने।
उनका अनुसार अब कार्यविधिका लागि मन्त्रिपरिषद्को बैठकबाट पास हुन पर्दैन। प्रत्येक मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिमा कार्यविधि तयार पारेर लागू गर्न सक्ने उनको भनाइ छ।