धनगढी- कैलालीमा जारी निषेध आदेशलाई निरन्तरता दिइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जारी गरेको निषेध आदेश जेठ मसान्तसम्म निरन्तरता दिइएको हो।
पछिल्लो थपिएको निषेध आदेश बिहीबार सकिँदै छ। नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा तीव्र रुपमा बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि निषेध आदेशलाई निरन्ता दिइएको प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा भनिएको छ।
निषेध आदेशमा औषधी, खाद्यबस्तु तथा अत्यावश्यक उपभोग्य वस्तु खरिदको काम र अत्यावश्यक सेवा लिनुपर्दा बाहेक घर वाहिर निस्कन बन्देज लगाइएको छ।
तरकारी, फलफूल, खाद्यान्न, दुध, डेरी, माछा, मासु, खानेपानी, ग्याँस पसल, किराना र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) सातामा आइतवार, मंगलबार, बिहीवार, शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइने निषेध आदेशमा भनिएको छ।
निषेध आदेशमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायतका कार्यालयको सेवा प्रवाह स्थगन गरिएको छ भने बीमा, बैक तथा वित्तीय सेवा बिहान ७ बजेदेखि १० बजसेम्म ५० प्रतिशत मात्र कर्मचारी राखेर मात्र सञ्चालन गर्न पाइने छ।
