विराटनगर- प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान गरिएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बिहानको बैठकले बजेट अधिवेशन जेठ २४ गते दिउँसो २ बजेका लागि आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए।
यसअघि सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जेठ २५ देखि २६ गतेतिर सुरु हुने गरी प्रदेशसभाको बजेट अधिवेशन बोलाउने विपक्षी दलहरूलाई बताएका थिए।
संसद्का विपक्षी दलका नेताहरूसँगको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले संसदमा प्रि बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी सरकारले तयारी गरेको जानकारी दिएका थिए।
बुधबारको मन्त्रिपरिषद् बैठकले प्रि बजेट छलफलको समय घटाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो। सो निर्णयको विपक्षी दलहरुले विरोध गरेका छन्।
असार १ मा प्रदेश सरकारहरूले बजेट ल्याउने चलन छ। यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ।
