काठमाडौं- २४ सै घण्टा घरमा बस्दा मान्छेलाई दिक्क त लाग्छ नै। तर, महामारीको डरले बाहिर निस्किहाल्ने आँट पनि आउँदैन।यद्यपि, केही यस्ता मानिस पनि छन् जो स्वास्थ्य जोखिम उठाएर सहरको मौनतालाई चिर्दै दैनिकजसो कपन गुम्बाको उकालो उक्लिरहेका हुन्छन्। उनीहरुसँगै यात्रा गरेर यो छोटो आलेख तयार गरिएको हो।
कपन बालुवाखानीका गोपाल ढकाल (३६) हरेक साँझ कपन गुम्बाको फेरो मार्छन्। कहिलेकाहीँ झण्डा पार्कसम्म पुग्छन् र सल्लाघारीको सल्लिपरसँगै सुसेल्छन्। अघिल्लो लकडाउनमा पनि उनी नियमित यहाँ आउँथे र घण्टौं भुल्थे। निषेधादेशले ल्याएको घरेलु एकान्तबासलाई उनी कपन गुम्बामा भेटिने शान्तिसँग फुकाउँछन्। मनोविद्समेत रहेका ढकाल भन्छन्, ‘यहाँ आउनु तनाव व्यवस्थापनको एउटा राम्रो उपाय पनि हो । मनमा शान्ति मिल्छ।’
प्रकृतिको नजिक हुँदा, हरियालीसँग रमाउन पाउँदा, डाँडाकाँडाको घुम्ती गोरेटो हिँड्दा तनाव कम हुनु स्वाभाविक नै हो। अझ कपन गुम्बा त धार्मिक स्थल पनि भइदियो। कपन र आसपासमा बस्नेका लागि यो गजबको गन्तव्य बनेको छ।
दैनिक पाँच हजारको हाराहारीमा कोरोना संक्रमित थपिइरहेका छन्। सयको हाराहारीमा मृत्यु भइरहेको छ। यस्तो स्थितिमा पनि कपन गुम्बा उक्लिनेको चाप भने बढ्दो छ। के जोखिमरहित छ यो ठाउँ। कोरोना लाग्दैन यहाँ आउनेलाई? ढकाल भन्छन्, ‘जोखिम मोलेरै भए पनि यहाँ आउन मन लाग्छ। कारण– यहाँ आउँदा मानसिक र शारीरिक थकान कम भएको महसुस हुन्छ।’
काठमाडौंलाई पृष्ठभूमिमा पारेर प्रीति पहाडी, नयन शर्मा र रोजी श्रेष्ठ सेल्फी खिचिरहेका थिए। उनीहरु सेल्फी खिच्नकै यहाँ यहाँ आएका भने होइनन्। रोजीले भनिन्, ‘यहाँ नेचुरल अक्सिजन पाइन्छ। एकान्तमा पुगेर एकछिन भए पनि मास्क खोलेर बस्नुको आनन्द छुट्टै छ।’
यहाँ आउनेहरु घण्टौं भुल्छन्। हिँड्दाहिँड्दै फोटो खिच्ने र टिकटक बनाउनेहरु बाटैभरि भेटिन्छन्। धुम्बाराहीका निशा बजगाईं र मेलिना थापा जोरपाटीलाई पृष्ठभूमिमा पार्दै कम्मर मर्काइरहेका थिए। ‘यहाँ आउँदा कोरोनाको त्रास अलिकति भए पनि कम हुन्छ,’ अभिनय सकेर निशाले भनिन्। सहरीकरणले कपनलाई पनि छपक्कै छोपिसकेको छ। खाली ठाउँ भेट्नै मुस्किल छ। बाक्लो बस्तीमा निसासिएर निस्किएका मान्छेका लागि कपन गुम्बा स्वच्छ सास लिने ठाउँ भइदिएको छ।
काठमाडौंलाई पृष्ठभूमिमा पारेर प्रीति पहाडी, नयन शर्मा र रोजी श्रेष्ठ सेल्फी खिचिरहेका थिए। उनीहरु सेल्फी खिच्नकै यहाँ यहाँ आएका भने होइनन्। रोजीले भनिन्, ‘यहाँ नेचुरल अक्सिजन पाइन्छ। एकान्तमा पुगेर एकछिन भए पनि मास्क खोलेर बस्नुको आनन्द छुट्टै छ।’
मर्निङ वाकको लागि पनि कपन गुम्बा राम्रो गन्तव्य बनेको छ। कपन महाँकाल बस्ने रमेश नेपाल (४४) हरेक दिन मर्निङ वाकमा निस्किन्छन्। उनको गन्तव्य कपन गुम्बासम्मको हुन्छ। बिहानै पाँच बजे महाँकालबाट हिँडेर उनी सात बजे फर्किन्छन्। ‘भीड र पुलिसबाट बचेर हामी एकान्त खोज्दै कपन गुम्बातिर आएका हौं,’ रमेशले सुनाए।
कपन गुम्बाकी स्थानीय हुन् डोल्मा शेर्पा। खाजा घर चलाउने गरेकी डोल्माले लकडाउनपछि खाजा घर बन्द गरिन्। तर दैनिक सयौंको संख्यामा मान्छेहरु आएको देखेर छक्क पर्छिन् । यहाँ आउने मानिस देखेर उनलाई कुनै किसिमको लकडाउन छ भन्ने नै लाग्दैन। भन्छिन्, ‘पहिलो लकडाउनमा त झन् धेरै आउँथे।’
चाबहिल, धुम्बाराही, चक्रपथ, जोरपाटी, बौद्धलगायत क्षेत्रका मानिसहरु यहाँ आइपुग्छन्। अनि चिसो हावा लिँदै सहर नियाल्छन्। चराचुरुंगीको चिरबिर चिरबिरले मन्त्रमुग्ध हुन्छन्। बुद्धमन्त्र लिखित पतकालाई पृष्ठभूमिमा राखेर फोटो खिचिक्क पार्छन् र मनको बेचैनी शान्त पार्छन्।
गुम्बाको उत्तरतिर चुनिखेल गार्डेनको रुपमा रहेको सल्लाघारी छ। त्यहाँ चिसो हावा चलिरहन्छ र तन्नेरीहरु गोरेटो बाटो फेरो मारिरहेका देखिन्छन्। गुम्बा आफैंमा शान्तिको प्रतीक हो। विचलित मनलाई शान्त पार्न गुम्बाको मौन भूमिका हुन्छ भन्दा अतिशयोक्ति नहोला। त्यसैले त कोरोना कहरमा पनि कपन गुम्बा मन बहलाउने गन्तव्य बनेको छ।