काठमाडौं- सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तिय संस्थाहरुलाई कोषमा आबद्ध हुन फेरि आग्रह गरेको छ।
कोषले मंगलबार नेपाल बैंकर्स संघलाई एक पत्र लेखी कोषमा आबद्ध हुन पुनः आह्वान गरेको हो। यसअघि कोषले दुईपटक पत्र लेखी कोषमा आबद्ध हुनका लागि आग्रह गरेको थियो भने अनौपचारिक रुपमा बारम्बार आग्रह गरिरहेको छ।
जेठ र असार महिनामा कोषमा जम्मा हुने सम्पूर्ण रकम सरकारले नै व्यहोर्ने व्यवस्था गरेको उल्लेख गर्दै कोषका लेखा अधिकृत फणिन्द्रराज शर्माले संघलाई पत्र लेखेका हुन्।
यसअघि कोषले सनराइज बैंक र ग्लोबल आईएमई बैंकका कर्मचारीहरुको मृत्युपछि कोषले ती दुवै बैंकलाई कोषमा जम्मा गर्दा उनीहरुले पाउने रकम बराबरको क्षतिपूर्ति दिन पनि निर्देशन दिइसकेको छ।
यो बैंकहरुलाई कोषमा आबद्ध हुनका लागि गरिएको बैंकहरुलाई दबाब थियो। बैंकहरुमा पनि यसको प्रभाव परिरहेको छ। यही मौका छोपेर कोषले बजेटमा दिएको प्रावधान उल्लेख गर्दै कोषमा आबद्ध हुन पुनः आग्रह गरेको हो।
कोषमा जम्मा नभए पनि कुनै पनि कम्पनीका कामदारको मृत्यु भएमा ती कम्पनीहरुले अनिवार्य रुपमा कोषबाट पाउनेजति सुविधा अनिवार्य रुपमा पाउने सामाजिक सुरक्षा कोष नियमावलीमा उल्लेख गरिएको छ।
कोषका प्रवक्ता विवेक पन्थीले बैंकहरुलाई सामाजिक सुरक्षा कोषमा आउन बारम्बार आग्रह गरेको तर अझै पनि बैंकरहरु अटेर गरी बसेको बताए।
कोषमा श्रमिकका तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी मासिक ३१ प्रतिशत रकम जम्मा हुन्छ।
संघले दोहोरो कर र ६० वर्षपछि मात्रै पेन्सन पाउने प्रावधानहरुमाथि प्रश्न गरेको थियो। तर कोषले भने यी दुवै व्यवस्थामा अहिले परिमार्जन गरेको जनाएको छ।
त्यस्तै कोषले बैंकर्स संघलाई सामाजिक सुरक्षा कोष नियमावली परिमार्जन गर्दै जाने भन्दै संघलाई विश्वस्त समेत पार्न खोजिरहेको छ।
हाल कोषमा ६ वटा वाणिज्य बैंक आबद्ध भए पनि उनीहरुले कोषमा बुझाउनुपर्ने कर्मचारीको योगदानबापतको रकम भने बुझाएका छैनन्। कोषमा हालसम्म १४ हजार २५ वटा रोजगारदाता आबद्ध भएका छन्।
सञ्चालक नै अध्यक्ष रहेको बैंक पनि गएन कोषमा
सामाजिक सुरक्षा कोषको सञ्चालकमा चन्द्र ढकाल छन्। तर उनी नै अध्यक्ष रहेको ग्लोबल आइएमई बैंक कोषमा आबद्ध भए पनि कर्मचारीहरुको योगदानबापतको रकम पठाएको छैन।
केही दिनअघि कोषले बैंकलाई कोरोनाका कारण मृत्यु भएको कर्मचारीको रकम उपलब्ध गराउन निर्देशन दिएको थियो। मृत्यु भएका कर्मचारीले कोषमा आबद्ध भएबापत पाउनुपर्ने १ करोड ५१ लाख रुपैयाँ बराबरको रकम प्रदान गर्न कोषले बैंकलाई निर्देशन दिएको हो।