काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले ढुंगा/गिटी/बालुवा निकासी गर्ने बजेटको व्यवस्था राष्ट्रघाती भएको बताएको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै व्यापार घाटा गर्ने बहानामा चुरे क्षेत्र मास्न नहुने बताएका छन्।
'व्यापार घाटा कम गर्ने बहानामा ढुंगा गिटी बालुवा निकासी गर्ने बजेटको व्यवस्था राष्ट्रघाती छ। यसले चुरे विनाश गर्ने, तराई/मधेशलाई मरुभूमीकरण गर्ने निश्चित छ,' विज्ञप्तिमा भनिएको छ।
जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् ल्याएको बजेट अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका थिए। बजेटमा चुरे क्षेत्र मासेर ढुंगा, गिटी, बालुवा निर्यात गर्ने विषय उल्लेख गरिएको छ।
चुरे क्षेत्र मासिँदा मधेशमा ठूलो प्राकृतिक संकट आउन सक्ने भएकले चुरे क्षेत्र उत्खनन गरी निर्यात गर्ने कार्य बन्द गर्नुपर्ने जसपाको माग छ। निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा बसोबास गराउने, वन विनाश गरी होटल मोटल, रिसोर्ट आदि खोल्ने विषयप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा भनिएको छ।
चुरे मासिए तराईको उर्वरता समाप्त हुने भन्दै जसपाले चिन्तासमेत व्यक्त गरेको छ। सरकारले यो व्यवस्था नसच्याए तराईका जनताले प्रतिरोध गर्नेसमेत जसपाले चेतावनी दिएको छ।
