काठमाडौं- नवलपरासी(पूर्व) मा रहेको चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा आगलागी भएको छ।
बुधबार बिहान ८ बजे चौधरी फ्याक्ट्रीमा आगलागी भएको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए।
‘बिहान ८ बजेतिर चौधरी ग्रुपको खाद्य स्टोर र बियर कम्पनीमा आगलागी भएको हो, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रण प्रयास भइरहेको छ,’ एसपी मल्लले भने।
बिहान ८ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणका लागि चारवटा दमकल प्रयोग भएको उनले बताए। स्थानीय र फ्याक्ट्रीका कर्मचारी पनि आगो नियन्त्रणमा लागि परेका छन्।
आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको भए पनि इलेक्ट्रीक सर्टका कारण आगालागी भएको हुनसक्ने अनुमान गरिएको मल्ले बताए। कारण भने खुलेको छैन।
'अहिले आगो नियन्त्रणमै खटिएका छौं,' एसपी मल्लले नेपाल समयलाई भने, ‘इलेक्ट्रीक सर्टका कारण आगो लागेको अनुमान गरिएको छ।' चौधरी ग्रुपको बियर कम्पनी र खाद्य स्टोर नजिकै रहेकाले दुवैमा आगो सल्किएको बताइएको छ।
