साथीहरुले यो पढ्दा काठमाडौँको सट्टा आफ्नै गाउँसहर सम्झी (परिकल्पना गरी) पढ्नुहोला है। धन्यवाद।
‘सन् २०३० मा संसारकै सुन्दर सहर काठमाडौं उपत्यका’– विश्व विख्यात टाइम पत्रिका
टाइम पत्रिकाले यसरी वर्षको अन्तिम संस्करणको पहिलो पृष्ठमा काठमाडौं उपत्यकालाई एसियाको “चम्किलो मोती” घोषणा गरिदिएकोमा विश्व जगतमा हलचल मच्चिएको छ। सन् २०१५ मा ७.८ रेक्टर स्केलको भूकम्पको चपेटामा परेको यो सहरले पछिल्लो १५ वर्षको अवधिमै कसरी यस्तो छलाङ मार्याे– सबैलाई चासोको बिषय बनेको छ। काठमाडौं उपत्यकालाई सन् २०३० मा संसारको सबैभन्दा सुन्दर सहर चुन्नमा विश्वविख्यात सहरी विकास योजनाविद् तथा अग्रजहरु सामेल निर्णायक मण्डलले १० विशेष कारण दिएका छन्।
१) काठमाडौं– सेवक सरकार सहर
२) काठमाडौं– विविधता झल्कने सहर
३) काठमाडौं– विश्वकै हराभरा सहर
४) काठमाडौं– सम्पदा सहर
५) काठमाडौं– पुनः प्रयोगीय सहर
६) काठमाडौं– नसुत्ने सहर
७ं) काठमाडौं– उर्जा प्लस सहर
८) काठमाडौं– मस्त रमाउने सहर
९) काठमाडौं– विवेकशील सहर
१०) काठमाडौं– उद्यमीको राजधानी
१) काठमाडौं– सेवक सरकार सहर
म स्थानीय वडा कार्यालय अगाडी छु। १८औं शताब्दीको दरवार जस्तो देखिने यो भवन काठमा कुँदिएका विभिन्न आकृतिहरुले नेपालको इतिहासको वृतान्त दर्शाएको छ। भित्र छिर्छु । भित्र २१औं शताब्दीको आधुनिक पाँच तारे होटेल छिरेको भान हुन्छ । भित्ताहरुमा नेपालका विभिन्न जातीय विविधता झल्काउने चित्रकला र मूर्तिहरु टाँगिएका छन्। अलिपर बडेमानको पोस्टरमा लेखिएको छ– “लोकतन्त्र भनेकै पारदर्शिता”। अलि पर अर्कोमा– “ तपाईंकै सरकार, तपाईंकै सेवक ”
‘नमस्ते’ एक सम्पर्क अधिकारी मेरो अगाडि उभिँदै सोध्छन्, “तपाईँलाई म कसरी सेवा गर्न सक्छु?” मेरो अनुरोधमा उनले त्यस वडाकी निर्वाचित पदाधिकारीसँग भेटाउन लैजान्छन्। ती निर्वाचित पदाधिकारीले मलाई विनम्रताका साथ आफ्नो कार्यकक्षभित्र स्वागत गर्छिन् । उनी सोध्छिन् “के तपाईं नेपालमै बनेको ताजा अर्ग्यानिक कफी पिउनुहुन्छ? त्यतिन्जेल तपाईंले खोजेको सुचना हामी जुटाउने छौं है ।”
सन् २०३० मा काठमाडौं जवाफदेहिता र पारदर्शी स्थानीय शासनको लागि “२१ औं शताब्दीको सेवक सरकार” मोडेल अनुशरण गरी विश्वमा नमुना बनेको छ । नियमित स्थानीय निर्वाचन, स्राेतको चुस्त र समावेशी स्थानीय व्यवस्थापन, विपद् व्यवस्थापन, पारदर्शिता र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताले गर्दा नागरिक र सरकारका बीच जीत जीतको वातावरण बनेको छ । स्थानीय कर्मचारीहरु सूचना प्रविधिको प्रयोग गरी द्रूत गतिमा हैरानीमुक्त सेवा दिन्छन्। स्थानीयहरुले सूचनाको हक ऐन प्रयोग गरी सहरको शासनको बारेमा नियमित रुपमा कुनै पनि सूचना खोज्ने गर्छन् र सजिलै पाउँछन् पनि।
स्थानीय कर पारदर्शी तरिकाले उठाइन्छ । सूचना प्रविधिको मद्दतले तुरुन्तै स्थानीय जनमतबाटै टोलको प्राथमिकता तय गरिन्छ अनि सोही अनुरुप यो करको सदुपयोग गरिन्छ। वडामा आफ्ना एक एक रुपैयाँ कहाँ र कहिले र कसले खर्च गर्याे हरेक स्थानीयलाई प्रष्टसँग थाहा हुन्छ।
यसले गर्दा व्यवसाय, संघसंस्था र स्थानीय निकायहरु सबै जवाफदेही रहन्छन्। यदि कुनै पनि सूचना ४८ घण्टाभित्र दिन नसकेमा मुलुकका चुस्त रुपमा कार्यान्वयन हुने कानुनले सम्बोधन गरिहाल्छ। नागरिक पत्रकारिताले मूलधारका पत्रकारितालाई परिस्कृत गरेको छ। स्थानीय कर पारदर्शी तरिकाले उठाइन्छ । सूचना प्रविधिको मद्दतले तुरुन्तै स्थानीय जनमतबाटै टोलको प्राथमिकता तय गरिन्छ अनि सोही अनुरुप यो करको सदुपयोग गरिन्छ। वडामा आफ्ना एक एक रुपैयाँ कहाँ र कहिले र कसले खर्च गर्याे हरेक स्थानीयलाई प्रष्टसँग थाहा हुन्छ।
सन् २०१५ को महाभूकम्पपछि एक सद्गुणको चक्र यसरी शुरु भयो कि काठमाडौंबासीहरु आफ्नो नागरिक दायित्व र युवा स्वयंसेवाको मनोभावमा प्रविधिको सदुपयोग गरी मिलेर काम गर्न थाले। जसको फलस्वरुप २१ औं शताव्दीको समय सापेक्ष शासन प्रणाली बुझेका कर्मचारीहरु र स्थानीय नेताहरुले नै काम गर्ने वातावरण पाए। त्यसै बेला बनेको देशको स्वायत्त एवं शक्तिशाली सरकारी निकाय “नेपाल नवनिर्माण र उत्थान बोर्ड” र यसका कुशल सहरी विकास विज्ञहरुले काठमाडौं उपत्यकाका नीति र पूर्वाधारहरु दुवैलाई सशक्त किसिमले सुधार गर्न थाले।
नागरिक मन्त्र– मेरो सरकार, सेवक सरकार
२) काठमाडौं– विविधता झल्कने सहर
भक्तपुरको एउटा गल्लीबाट म फुत्त निक्लिन्छु। अगाडि फुटपाथ साँच्चै अष्टरंगी छ भने पर्खाल भित्तेचित्रले सजिएका छन्। कुनैमा थान्काका झलक देख्छु त अरुमा अमूर्त कला वा धार्मिक कला। यहाँ हरेक गल्लीले आफ्नो टोलको बेग्लै मौलिकता झल्काएको पाउँछु। यी गल्लीहरुमा शायद म घण्टौं भौतारिन सक्छु। यहाँको ठेगाना सडकका नाम वा नम्बरले भन्दा पनि स्मारकहरुले चिनाउने गरिन्छ। यहाँको गल्ली गल्लीमा प्रस्फुटित विविध सौन्दर्यका नमुनाले म दंग छु।
सन् २०३० मा टोलटोलमा र वडावडामा नागरिकहरुले गल्लीको रेखदेखको जिम्मा लिएका छन्। टोलटोल बीच प्रतिस्पर्धा भैरहेको छ– सबै भन्दा राम्रो सडक, पेटी, पार्क, सार्वजनिक शौचालय, बस बिसौनी, साइकल लेन आदि इत्यादिमा। समुदायले आफ्नो क्षेत्रका सडक र सार्वजनिक स्थलको पूर्ण जिम्मा लिएका छन्। आफैं नामाकरण गर्छन्, श्रृंगार गर्छन् र त्यसलाई समर्थन गर्छन्। नगरपालिकाको पूर्वाधार विकास र मर्मत गर्ने स्वायत्त निकायले निर्वाचित मेयरको टीमसँग मिली स्थानीय समुदायलाई सडक मात्र होइन सामुदायिक पूर्वाधार र सार्वजनिक शौचालय पनि बनाउन मद्दत गर्छन्।
काठमाडौंले विश्वमा चर्चित भद्रगोल सिद्धान्तको सार पकडेको भान हुन्छ, त्यसैले होला यसका विशिष्ट सहर व्यवस्थापकहरुले यस्तो तरिकाले यो सहर बनाए कि कुनै पनि दुई ठाउँ एकै नास देखिन्न पनि र चल्दैन पनि तैपनि सुमधुर किसिमले यो सहर चलेको छ। काठमाडौंवासी यस्तै विविधताले चलेको सहर बनेकोमा गर्व गर्छन्।
नागरिकहरु आफैंले आफ्ना घरछिमेकमा हराभरा बनाउन जिम्मेवारी लिएका छन्। सबै सामुदायिक पूर्वाधारहरु सबै नागरिकका लागि २४ घण्टै खुल्ला हुन्छन्। काठमाडौंले विश्वमा चर्चित भद्रगोल सिद्धान्तको सार पकडेको भान हुन्छ, त्यसैले होला यसका विशिष्ट सहर व्यवस्थापकहरुले यस्तो तरिकाले यो सहर बनाए कि कुनै पनि दुई ठाउँ एकै नास देखिन्न पनि र चल्दैन पनि तैपनि सुमधुर किसिमले यो सहर चलेको छ। काठमाडौंवासी यस्तै विविधताले चलेको सहर बनेकोमा गर्व गर्छन्।
काठमाडौं उपत्यका यस्तो विशाल महानगर हो जसलाई विभिन्न तरिकाले आकार दिने गरिन्छ। यस विशाल सहरलाई विभिन्न नगरपालिकामा विभाजन गरिएको छ जस बीच स्वस्थ प्रतिस्पर्धा भै रहन्छ। आफ्नो पट्टिको सहर कसरी अर्को भन्दा अब्बल बनाउने होडबाजीमा काठमाडौं सदा निर्माण एवम् पुनर्निर्माणको चक्रमा रहि रहन्छ। १५ वर्ष अघि देखि ‘जे रोप्यो, त्यही फल्यो’ भन्ने नाराका साथ टोलको विकासमा नियमित निरन्तर सुधार हुँदैछ।
नागरिक मन्त्र– मेरो टोल, सर्वोत्कृष्ट टोल
३) काठमाडौं– विश्वकै हराभरा सहर
त्रिभुवन विमानस्थलबाट बाहिर निस्किन्छु। हल्का बतास र भर्खरै काटिएको घाँसको वास्नादार सुगन्धले स्वागत गर्छ। अनि बिजुलीबाट चल्ने ट्याक्सीमा छिर्छु र सहरतिर लम्कन्छु। धुलो रहित फराकिला सडकमा साइकल यात्री र पैदल यात्रीको घुईचो दृश्यावलोकन गर्दै समय कटाउँछु। पशुपतिनाथ नजिकै सामुदायिक बगैचामा दुई बालबालिका बुद्रुक्क आफ्नो कुकुरसँग खेली रहेको दृष्यले मेरा छोराछोरीको याद आउँछ– मुस्कान फुट्छ। जताततै प्रस्ट, सुन्दर मोवाईल मैत्री साइनबोर्डहरुले तपाई कहाँ हुनुहुन्छ प्रश्ट निर्देशन दिन्छ। कतै इँट्टा र सिमेन्टका पर्खाल देखिन्न। त्यसको सट्टा रुख र सुन्दर प्राकृतिक फूल रझाडीहरु पर्खालको रुप लिएका छन्। त्यति मात्र होईन यहाँ त रुखविरुवा नै भवनका डिजाईनसँगै मिलाईएर बनाइएको पो देख्छु।
एकैछिनमा म काठमाडौंको मुटुमा पुग्छु त्यो सबैले मलाई ‘हेर्नै पर्छ है ‘ भनेको बडेमानको फराकिलो पार्कमा। म गाडीबाट निस्की हिँडन थाल्छु। नजिकै एक जमात युवाहरु वि वोईन्ग नाचमा लागि परेका छन् । अलि पर एक जमात युवतीहरु दौडिँदै छन्। कुनामा र्याप संगीतको घम्साघम्सी चलिरहेको छ भने पल्लो तिर मैदानमा फ़ुटबल अनि अल पर क्रिकेट चलिरहेको छ। अलि हिँडे पछि शान्त क्षेत्र तिर पुगेको महसुस गर्छु। त्यहाँ ३ पुस्ता परिवारका सदस्यहरु एक बडेमानको पिपलको रुखको चौतारीमा बसी पिकनिक मनाइरहेका छन् भने चराहरुको एक झुण्ड निलो आकाशसँग खेलिरहेका छन्। आहा यो क्षण सम्झिँदा कोही पनि पर्यटक लाई किन यो ठाउँको ईर्ष्या नलाग्ला र भन्या।
सन् २०१५ को स्थानीय निर्वाचन लगत्तै उपत्यकाभित्रका महानगरपालिकाहरुका मातहतमा निर्वाचित मेयरहरु र नगर सभा र वडा समितिहरु मिली काठमाडौंका खुल्ला ठाउँहरुलाई दिगो र अपांगमैत्री हरियो बगैचा र पोखरीहरुमा रुपान्तरण गर्न थालियो। साथै उपत्यका वरिपरिका घोषणा हुन बाँकी पहाडलाई राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा परिवर्तन गरियो। यसले विद्यार्थी, बालबालिका देखि बृद्ध सबैलाई प्रकृतिसँग हर पल अनुभव गर्ने मौका दिलायो। पशुपतिनाथ, स्वयम्भु ,चाँगुनारायण, बौद्धनाथ देखि बसन्तपुर, पाटन, भक्तपुर दरबार क्षेत्र आदि विभिन्न सम्पदाहरु वरिपरि सफा, सुन्दर, जीवन्त बगैचाहरुले घरिएको छ।
सन् २०३० मा काठमाडौंले संसारमा अपाङ्ग र अशक्त मैत्री सहरको रुपमा नाम कमाएको छ। यहाँका प्रमुख सडक र गल्ली गल्लीमा अपांग र अशक्त मैत्री चौडा फुटपाथ र साइकल लेनहरु छन् जुन आफैं गाडी गुड्ने सडक जत्तिकै चौडा बनाइएका छन्। यहाँका सडकहरु वैकल्पिक ऊर्जाबाट चल्ने सवारीसाधनले भरिभराउ छन्।
१५ वर्ष अघि “एकै जीवन, एकै रुख” अभियान शुरु भएको थियो जसमा हरेक काठमाडौंबासीलाई आफ्नो जीवनमा एउटा रुख हुर्काउने प्रण लिन लगाई जिम्मा दिइयो। यसले काठमाडौँलाई प्रदुषण मुक्त बनाउन ठुलो सहयोग गर्याे। काठमाडौँमा एसियाका राजधानीका मुटुमा पाईने पार्क मध्य सबै भन्दा ठूलो पार्क छ जुन पहिलेको नारायणहिटी राजदरबार संग्रहालय देखि रानीपोखरी, रत्नपार्क, टुँडीखेल जोड्दै दशरथ रंगशालालाई पनि अँगालेर कालमोचन मन्दिर परिसरसम्म तन्काएर बाग्मती किनारै किनार सम्म फैलिएको छ।
सन् २०३० मा काठमाडौंले संसारमा अपाङ्ग र अशक्त मैत्री सहरको रुपमा नाम कमाएको छ। यहाँका प्रमुख सडक र गल्ली गल्लीमा अपांग र अशक्त मैत्री चौडा फुटपाथ र साइकल लेनहरु छन् जुन आफै गाडी गुड्ने सडक जत्तिकै चौडा बनाइएका छन्। यहाँका सडकहरु वैकल्पिक ऊर्जा बाट चल्ने सवारीसाधनले भरिभराउ छन्। यहाँ पेट्रोलियम पदार्थको इन्धनबाट चल्ने सवारी साधन प्रयोग नगरे बापत करमा विशेष छुट दिने प्रावधान राखिएको छ। कुनै पनि पूर्वाधारहरु निर्माण गर्दा हरियालीयुक्त प्रणाली अपनाए करमा विशेष छुट दिइन्छ।
हावापानी लगायत समग्र वातावरणको गुणस्तरलाई आधारभूत मौलिक अधिकार मान्ने काठमाडौं बासीहरु चुनावमा वायु प्रदूषण सूचकांकको आधारमा नेतृत्व चुन्ने, फाल्ने गर्छन्। यसले गर्दा स्थानीय नेतृत्वले संसारभरि अपनाइएको केटिएम २१०० वातावरणीय स्तरमा सानो गिरावटलाई लिएर निकै संवेदनशील हुने गर्छन्। काठमाडौंवासी प्रायः आफ्नै घर तथा नजिकैको क्याफे वा पार्कहरुबाटै काम गर्छन्। आववतजावतमा पनि प्रायः साइकल, पैदल वा सफा सार्वजनिक यातायात नै प्रयोग गरिन्छ। विष्णुमती र बागमती नदीका किनारहरु शिवपुरी देखि चोभार सम्म साइकल प्रेमी देखि चराप्रेमीहरु जमघट हुने थलो बनेको छ। बिगतका १० बर्षमा उपत्यका घेरेका सबै पहाडहरु घना जंगलले भरिएको राष्ट्रिय पार्कहरुमा परिणत गरिएपछि विश्वका अरु राजधानी जस्तो काठमाडौं पानीको समस्याबाट उम्कन सफल भएको छ।
नागरिक मन्त्र– हरियो नगर हाम्रो रहर
४) काठमाडौं– सम्पदा सहर
मरुको साँगुरो गल्लीबाट भित्र छिर्दै गर्दा मेरो आँखा त्यहाँ कुनाकाप्चाका ससाना मठमन्दिर र बुझ्नै नसक्ने स्मारकहरु देख्छु, कतै कामुक काठका मुर्तिहरु छन् त कतै धातुका ढोकामा कुँदिएका जटिल आकृतिहरु देख्दा मनमा अनेकन भावना बग्न थाल्छ। घर आँगन टोलमा आफ्ना दिवंगत कसैको नाममा केही न केही स्मारक बनेको देख्छु । बाटोमा एउटी उज्यालो अनुहार बोकेकी बुढी आमाले मलाई हेरेर मुसुक्क मुस्काई दिन्छिन्। “साँच्चीकै जीवन्त सहर यस्तै हुन्छ कि क्या हो?”
बौद्ध, हिन्दु, मुस्लिम, जैन, क्रिष्चियन, सिख आदका मठमन्दिरहरुले भरिएको काठमाडौंले जनाउँछ कि यहाँका जनताले अध्यात्म र धर्मको विविधतालाई पनि दर्हो अंगालेका छन्। कला, संस्कृति, संस्कार, धर्मको विविधता र भाइचारालाई जनमानसमा मात्र नभई सहरकै दीगो विकास योजनामै अंगाली काठमाडौंले आफूलाई एक प्रबुद्ध सहरको रुपमा स्थापित गरेको छ। सन् २०१५ को भूकम्प पश्चात् काठमाडौंका जनताले आफूले गुमाएका परिवार र ईष्टमित्रका नाममा एउटा स्मारक बनाउने प्रतिबद्धता गरे जुन अहिले एउटा संस्कार नै बनेको छ। अहिले काठमाडौं हजार मठमन्दिर देखि दिमागै घोच्ने स्मारकहरुले भरिभराउ छ। यसै साथ ‘अतिथि देवो भवः’ यानि कि ‘पाहुना भनेकै भगवान’ भन्ने बिचारलाई पनि सहरबासीले व्यवहारमै ढालेका छन्।
आजकल काठमाडौंबासीले विश्वमै नवीन हुने यस्ता सहरी विकास योजनाहरु तयार गरेका छन् जुन नवआधुनिकता र सम्पदा संरक्षण बीचको समन्व्य, सहअस्तित्व र सन्तुलनमा आधारित छ।
अहिले काठमाडौंका नव पुस्ता आर्किटेक्ट, ईन्जिनियर र निर्माताको रुपमा कयौँ भेटिन्छन्। काठमाडौंका सम्पदाहरुमा हजारौं वर्षको कला, इतिहास, सयौं जातजातीको संस्कृतिको समिश्रण मात्र होईन त्यहाँका बासीहरुमा आध्यात्मिक जीवनशैली, रचनात्मक सोच अनि सम्पन्न समाजको समिश्रण पनि झल्किन्छ। यहाँ केटिएम निर्माण नियमावली (९ रेक्टर सम्मको भूकम्प थेग्न सक्ने) पास गरेर मात्र कुनै पनि भवन वा सम्पदाहरुको निर्माण वा पुनर्स्थापना गरिन्छ। १५ वर्षअघि सन् २०१५ मा काठमाडौंवासीले आफ्नो विगतका ऐतिहासिक सम्पदा मात्रै जोगाएनन् त्यसलाई सुधार गरि वृद्धि नै गर्ने अठोट लिए। आजकल काठमाडौंबासीले विश्वमै नवीन हुने यस्ता सहरी विकास योजनाहरु तयार गरेका छन् जुन नवआधुनिकता र सम्पदा संरक्षण बीचको समन्व्य, सहअस्तित्व र सन्तुलनमा आधारित छ। जसरी १३ औं शताव्दीका विश्व विख्यात नेपाली कलाकार अरनिकोले चीनमा हाम्रा कलासंस्कार निर्यात गरे, त्यसरी नै अहिलेका नेपालीहरुले पनि हाम्रो नविन कला र ज्ञान संसार भरि निर्यात गरी नेपालको नाम चम्काइरहेका छन्।
नागरिक मन्त्र– एक जीवन, एक स्मारक
५) काठमाडौं– पुनः प्रयोगीय सहर
म बुंगमतीको सांस्कृतिक अतिथि बास स्थान (सम्पदा होमस्टे) बाट निस्कन्छु। मेरो स्मार्टफोनमा हरियो बत्तीको संकेत देख्छु। यसो हेर्छु, त्यहाँ लेखेको कुरा देखेर मेरो अनुहारमा मुस्कान छाउँछ। मैले यो महिनामा आफ्ना खेर गएका फोहरदेखि फालेका सामानहरुलाई पुनः प्रयोग गरी पैसा प्राप्त गरेको रहेछु। मैले प्राप्त गरेको पैसा कहाँ राख्छौ भनेर मलाई फोनमै ३ विकल्प दिईन्छ। १) मेरो बैंकको खातामा हाल्ने २) मलाई मन पर्ने ३ वटा समाजसेवाको काममा दान दिने ३) सरकारको “नेपाल निरन्तर निर्माण कोष” मा लगानी गर्ने यस कोषले यस्ता महापूर्वाधारहरु बनाई रहेका छन् जहाँ कुल एक लाख नेपालीलाई सीपमूलक रोजगारी श्रृजना गरेको छ।
काठमाडौंमा प्रत्येक वर्ष संसारका सबैभन्दा उत्कृष्ट प्रवर्द्धकहरुको लागि “हरेक वस्तुलाई फेरि प्रयोगमा ल्याऔं” भन्ने अन्तराष्ट्रिय चुनौतिको प्रतियोगिता आयोजना गरिन्छ। अर्कोतिर भान्साको कुहिने फोहोरबाट जैविक मल बनाई अनि फोहर पानीलाई प्रयोग गराई बगैंचा तथा कौसीमै तरकारी खेती गर्ने प्रचलन फस्टाएको छ।
नवीनतामा रमाउने उद्यमी वैज्ञानिकहरुसँग मिली काठमाडौंले आफ्ना सम्पूर्ण खेर जाने वस्तुहरुलाई कसरी फाइदाजनक बनाउने भन्ने प्रणाली बिकास गरे। आफ्नै खेर गएका वस्तुहरुबाट जनताले सिधै पैसा कमाउन थाले। एकातिर घरायसी प्रयोजनका समानहरु बेच्न तथा भाडामा दिन प्रोत्साहन गरियो। काठमाडौँमा अनलाइन तथा अफलाइन लिलामी गर्ने ‘हाट बजार’हरु मान्छेका आकर्षणको केन्द्र बनेको छ। काठमाडौंमा प्रत्येक वर्ष संसारका सबैभन्दा उत्कृष्ट प्रवर्द्धकहरुको लागि “हरेक वस्तुलाई फेरि प्रयोगमा ल्याऔं” भन्ने अन्तराष्ट्रिय चुनौतिको प्रतियोगिता आयोजना गरिन्छ। अर्कोतिर भान्साको कुहिने फोहोरबाट जैविक मल बनाई अनि फोहर पानीलाई प्रयोग गराई बगैंचा तथा कौसीमै तरकारी खेती गर्ने प्रचलन फस्टाएको छ। बर्खामा आकाशबाट परेको पानी अनि शिशिरमा शीत पानी संकलन काठमाडौँ बासीका पिउने पानीको प्रमुख स्रोत बनेको छ।
नागरिक मन्त्र– फाल्ने मात्र होइन फर्काउने नै
६) काठमाडौं– नसुत्ने सहर
साँझ १० बजे एउटा साथीले किर्तिपुरमा आफ्नो घरमा हुने डान्स पार्टीमा मलाई निम्तो दिन्छ। म लाजिम्पाटको चम्किला बत्तीहरु बलेको सडकमा निस्कन्छु अनि विस्तारै गल्ली गल्ली हिँड्ने निर्णय गर्छु। नागरिक र पुलिसको टोलटोलका सन्जालको गस्तीले गर्दा म सुरक्षित महसुस गर्छु । म असनको मुटुमा रहेको रात्री बजार पुग्छु। स्थानीय र पर्यटकबीच रात्री बजारमा सामानको तोलमोल भईरहेको देख्छु। कालीमाटी पुग्दा वीच सडकमै केहि तन्नेरीहरु ‘ग्राफिटी’ चित्र बनाउँदै गरेको देख्छु। अचानक साइकल प्रहरीहरु रोकिन्छन् तर उनीहरुलाई समात्नुको सट्टा उनीहरुका प्रयासलाई यसरी सुधार गर है भन्दै पो सुझाव दिन्छन् बा!
म पुग्नुपर्ने डाँडातिर उक्लिँदै गर्दा अचानक गल्लीबाट दुई महिला विस्तारै दौडँदै निस्कन्छन्। पहिरन हेर्दा त व्यायाम गर्न निस्केका जस्ता लाग्छ यत्तिखेर भए पनि। उनीहरु मलाई मुसुक्क मुस्काउँदै लाग्छन्। म आफैंलाई माथिदेखि तल हेर्छु। लुगा त ठिकै लगाए छु कि छैन? मध्य रात नजिकै बल्ल साथीको ढोका ढक्ढकाउन पुग्छु। भित्रबाट भरपूर गीतका आवाज आएएको सुन्दा पार्टी त भरखर शुरु भएको जस्तो भान भो।
वर्षभरि नै यहाँको मौसम सुन्दर भएको हुनाले २४ घण्टै खुल्ला रहने काठमाडौंले अहिले आफूलाई जोश र होसको सहरको रुपमा छुट्टै पहिचान कायम गरेको छ। मध्य रातमा पनि यहाँका पार्कहरु उज्याला छन्।
सन् २०३० को काठमाडौं दिनमा राम्रो छ भन्ने सोच्नेहरुले रात झनै सुन्दर पाउँछन्। सहरका प्रत्येक कुना सवारी साधनमा ३० मिनेट भित्रै पुगिन्छ। १५ बर्ष अघि यस्तो भव्य सहरलाई ८ बजे नै बन्द गर्ने चलन थियो जुन प्रथालाई यहाँका व्यवसायी र स्थानिय सरकार मिली तोडे। कसरी? स्थानिय करको मद्दतले द्रुत गतिका सार्वजनिक सवारीसाधनहरु २४ घण्टै चलाउन थालियो। यसले ट्राफिक जामको समस्या पनि न्यून गरिदियो। सधैँ जाग्ने सहरमा अझ धेरै श्रृजना जाग्न थाल्यो। वर्षभरि नै यहाँको मौसम सुन्दर भएको हुनाले २४ घण्टै खुल्ला रहने काठमाडौंले अहिले आफूलाई जोश र होसको सहरको रुपमा छुट्टै पहिचान कायम गरेको छ। मध्य रातमा पनि यहाँका पार्कहरु उज्याला छन्। यही कारणले होला काठमाडौं परिवारसँग घुम्नको लागि योग्य सहरको सूचीमा निरन्तर उच्च १० मा पर्ने गर्छ हरेक बर्ष।
नागरिक मन्त्र– जीवन्त, जागाराम, जहिल्यै हाम्रो सहर
७) काठमाडौं– ऊर्जा प्लस सहर
गोदावरी स्थित आफ्नो कार्यालयबाट मंगलबजार घर जाँदै गर्दा मोबाइलमा मेरो ब्यांक ब्यालेन्स बढेको नोटिस आउँछ। आफ्नो घरको बढी भएको सौर्य ऊर्जा बेचिएछ र मैले अलि बढी पैसा कमाएँछु। आहा! यो शनिवार रात चाहिँ म त्यो उज्यालो नख्खुको किनारमा भरखर खोलेको त्यो मनोरम खुल्ला खाजा घर र बिजुलीले लटरम्म बगैँचामा चट्ट आफ्नो परिवारलाई बाहिर लैजाने भएँ।
ऊर्जाको संरक्षण भनेको जनताको मुख्य प्राथमिकताको विषय रहेको छ। जलवायु परिवर्तनको विषयमा विशेष चासो राख्ने यहाँका बासीले निर्णय नै गरेका छन् कि सबै विद्युतीय उपकरणहरुले वातावरण जोगाउने कडा ‘केटिएम २१०० नियमावली सख्त रुपमा पालना गर्नुपर्नेछ । काठमाडौं ऊर्जा सम्पन्न सहरको रुपमा चिनिन्छ।
कसले सोचेको थियो र १५ वर्ष अगाडि दिनमा १२–१४ घण्टासम्म लोडसेडिङ हुने सहर आज आएर सफा ऊर्जाले भरिभराउ सहरको रुपमा परिणत हुन्छ। १२ घण्टासम्म घाम लाग्ने काठमाडौँमा स्थानीय सरकार र नागरिकहरु मिळी हरेक घरलाई बिजुली उत्पादन गर्ने र बढि भएको ऊर्जा बेच्ने ऊर्जाघरको रुपमा बिकास गरेको छ। यहाँका बृद्धहरुले विगतका लोडसेडिङका चरम अफ्ठ्यारा अझै बिर्सेका छैनन् र ती अतितका कथाहरु सुनाएर युवाहरुलाई पनि बिर्सन दिएका छैनन्। त्यसैले ऊर्जाको संरक्षण भनेको जनताको मुख्य प्राथमिकताको विषय रहेको छ। जलवायु परिवर्तनको विषयमा विशेष चासो राख्ने यहाँका बासीले निर्णय नै गरेका छन् कि सबै विद्युतीय उपकरणहरुले वातावरण जोगाउने कडा ‘केटिएम २१०० नियमावली सख्त रुपमा पालना गर्नुपर्नेछ । काठमाडौं ऊर्जा सम्पन्न सहरको रुपमा चिनिन्छ।
नागरिक मन्त्र– हाम्रो गोल, झिलिमिली टोल
८) काठमाडौं– मस्त रमाउने सहर
भर्खरै किनेको बिश्व विख्यात हात्तीछाप चप्पल च्याट्ट लगाई ‘पटक पटक’ गर्दै गल्ली गल्लीमा बरालिँदै हिँड्न कम्ति रमाइलो भई राछैन र! यहाँका कुनाकाँप्चामा पाईने नविन श्रृजनाले मन बहलाएको छ मेरो। समय बितेको पत्तै पाएको छुईन। १०० वर्ष पुराना घरहरुमा अचुक कफी पसलहरु देख्छु। मेरो सामुन्ने झाँक्री र डाक्टरले सँगसँगै व्यवसाय खोल्न पाउँदा तीन छक पर्छु बा! आफ्नो एक हप्ते छुट्टी त यस्तै अनगिन्ती गल्लीहरुमा बितिसक्यो अब बचेको समय चाहिँ म वरिपरिका घना जंगलले भरिएका ती २००० मिटर अग्ला ‘हिमाल’ चढ्ने बिचार गरेको छु। स्थानियले यत्रा हिमाललाई किन ‘पहाड’ मात्र भन्छन् हँ गाँठे!
उपत्यका वरिपरिका अग्ला हिमालहरु हेर्दै हराउने देखि लिएर पौराणिक संस्कृति, संरचना हेर्नको लागि काठमाडौं अविस्मरणीय विश्राम क्षेत्र बनेको छ। दूःखबाट भाग्न खोज्नेहरुका लागि काठमाडौं शरण बनेको छ।
वर्षभरि अतुलनीय मौसम बोकेको काठमाडौंका भित्री गल्लीहरुले शदियौं पहिलेको संसारको झलक दिन्छ भने हरेक टोलमा देखिने सडके चमेना घरमा विश्वका गहन मुद्दाहरुमा बहस हुने थलो बनेको छ। काठमाडौं मन बहलाउनको लागि उत्तम ठाउँ बन्दै गैरहेको छ। त्यसैले होला यहाँ विश्वबाटै यात्रीहरु ओइरिरहन्छन्, महिनौँसम्म हराउँछन् अनि मन बहलाई फर्कन्छन् फेरि फर्कने वाचा गर्दै। उपत्यका वरिपरिका अग्ला हिमालहरु हेर्दै हराउने देखि लिएर पौराणिक संस्कृति, संरचना हेर्नको लागि काठमाडौं अविस्मरणीय विश्राम क्षेत्र बनेको छ। दूःखबाट भाग्न खोज्नेहरुका लागि काठमाडौं शरण बनेको छ।
नागरिक मन्त्र– काठमाडौंमा हराउने, आफैंलाई भेट्टाउने
९) काठमाडौं– विवेकशील सहर
आज हेर्छु यो सहर, सबै खुल्ला छ। मानिस बिनम्र छन्। गल्ली सुरक्षित छन्। यसो नोटिस गर्छु – नरम बोली र मद्दतका भावना बोकेको ५ बर्षे तोते देखि ८० बर्षे कपाल फुलेकाले पनि स्वयंसेवक भएर बाटोघाटोमा अरुलाई मद्दत गरेको देख्छु। अस्ति मात्र मेरो साथीको पासपोर्ट, वालेट सहितको बहुमुल्य गहना भएको झोला ट्याक्सीमा हराएको थियो तर हराएको एकै घण्टामै आफू होटल पुग्दा त जस्तातस्तै रुपमा झोला छाडी दिएको रहेछ त्यस ट्याक्सी चालकले। नाम पनि छाडेनन् बा। धन्यवाद पनि दिन सकिएन। १५ बर्ष अघि त यस्तो थिएन यो सहर! अचम्मै परेँ म।
१५ वर्ष अघि मात्र म यही सहरमा टेकेको मात्र के थिएँ बन्द हड्ताल त परम्परै बनेको रहेछ यहाँ। यहाँका नेता भनौँदाले स्थानीय गुन्डाहरुका आडमा ३० लाख बस्ने सहरै ठप्प पारी छाड्थे। सब वाक्क थिए तर सबै चुपचाप ! सरकारका दशौं हजार प्रहरी जवानहरु राज चलाउने गुण्डाका आडमा सुकुलगुण्डाहरुले मच्चाएको विध्वंश टुलुटुलु हेर्न बाध्य भएका थिए। कति लज्जास्पद लाग्यो यहाँको स्थिति हेर्दा त्यस बेला।१ यस्तो गुण्डाका राजधानी अहिले विवेकशील राजधानी बन्छ भनेर त मैले सपनामा पनि सोचेकी थिइन।
स्थानीयले बन्द गर्ने राजनीतिक दलहरुलाई स्थानिय चुनावमा यसरी पाठ सिकाए कि काठमाडौँमा आस्तित्व चट भयो। बन्द गर्दा प्रतिकार नगर्ने नेतृत्वलाई पनि यस्तै हाल गरे। अहिले घरआँगनदेखि नै बालबालिकालाई बिनम्रता, सहानुभूति, दायित्व र निष्ठा जस्ता विवेकशील मूल्य मान्यतालाई व्यवहारमा उतार्न लगाइन्छ।
सन् २०१५ मा भुकम्प र त्यस पश्चातको उथलपुथलले गर्दा जनताले बन्दको विरुद्ध शून्य सहनशीलता अपनाउन थाले। स्थानीय प्रशासनको मद्दतले काठमाडौंलाई बन्दमुक्त क्षेत्र घोषणा गरे। स्थानीयले बन्द गर्ने राजनीतिक दलहरुलाई स्थानिय चुनावमा यसरी पाठ सिकाए कि काठमाडौँमा आस्तित्व चट भयो। बन्द गर्दा प्रतिकार नगर्ने नेतृत्वलाई पनि यस्तै हाल गरे। अहिले घरआँगनदेखि नै बालबालिकालाई बिनम्रता, सहानुभूति, दायित्व र निष्ठा जस्ता विवेकशील मूल्य मान्यतालाई व्यवहारमा उतार्न लगाइन्छ।
नागरिक दायित्वका विषय हरेक कलेजमा एक प्रयोगात्मक विषय बनेको हुनाले यहाँका युवाहरुमा जोश मात्र होईन होश पनि जागेको छ। सक्नेले नसक्नेलाई मद्दतको हात बढाउने सहरको रुपमा चिनिएको छ। यहाँ एउटा यस्तो टिभी च्यानल नै छ– “पोजिटिभ (सकारात्मक) टिभी” जहाँ मद्दतका गाथा र सकारात्मक कार्यलाई मात्र चौबिसै घण्टा देखाईन्छ जहाँ नकारात्मकको नामो निशान देखिन्न। काठमाडौंमा जुनसुकै वर्ग, जाती, लिङ्ग, धर्म, उमेर,समुदाय वा देशकाले आफ्नो दैनिकी ढुक्क तरिकाले गर्छन्। हकका साथ जिम्मेवारी बहनलाई सँगै तौल्ने संस्कार यहाँका स्थानीय कानुनले पनि नजिरको रुपमा लिएको छ।
नागरिक मन्त्र– विवेक अघि सर्छ, टोल अघि बढ्छ
१०) काठमाडौं– उद्यमीको राजधानी
“त्यहाँ चाहिँ तिमी जानै पर्छ है” आधा दुनियाँ टाढाबाट मेरो साथीले मलाई एउटा उद्यमी क्याफेको सिफारिस गरेको थियो। त्यसैले आज म त्यही चिया कफी खाने ठाउँ अघि उभिएको छु। भित्र छिर्ने बित्तिकै वरिपरि भित्तामा जताततै फोटा टाँगिएको देख्छु। अचानक मेरो अनुहार उज्यालो हुन्छ– यी फोटामा मैले पत्रिकामा मात्र देखेका विश्व प्रसिद्ध लगानीकर्ता देखि अरबपति उद्यमीहरु देख्छु । यिनका साथमा यहीँकै स्थानीय सुचना प्रविधिका प्रतिभाशाली उद्यमशील युवाहरु देखिन्छन् भने त कतैमा ख्याति प्राप्त नेपाली कृषकहरु। जुनै फोटोमा पनि कोहि न कोहि श्रृजनशील ब्यक्तित्वहरु देखिएका छन्।
अवश्य यो ठाउँ सकारात्मकताको सुगन्धले नै छाएको छ। अगाडी टेबलहरुमा देख्छु, सबैमा स्थानीय र विदेशीहरु खचाखच छन्। टेबल खोज्दा खोज्दै १० मिनेट बित्यो भन्या। कम्तिमा पनि १० भिन्न भाषा बोलिईरहेको सुनें होला । उद्यम शुरु गर्ने आँट्ने मेरा साथीहरु यस बिचित्रको ठाउँमा कति दिन रमाउथेँ होला है!
टोलटोलमा स्थानीय परामर्श क्लबहरु फस्टाएका छन् जसले नियमित रुपमा त्यहाँका अग्रज र युवाहरुलाई एक ठाउँमा ल्याई सहि मार्ग देखाउने काम गर्छन्। स्थानीय प्रतिभाको श्रृजना, लगन र सफलतासँग टाँस्सिन देश-विदेशका लगानीकर्ता देखि ऋणदाताहरु सबै यही सहरमै खनिएका छन्।
सन् २०३० मा जुनसुकै काठमाडौंवासीलाई पनि अमेरिकाको सिलिकन भ्याली जस्तै गरि उद्यमशीलताको भूत सवार भएको स्थिति छ। सन् २०१५ को त्यो विनाशकारी भूकम्पले नेपालको त्यस बेलाका युवा ‘विलिन’ हुने पुस्तालाई खतरनाक परिस्थितिमा पनि काम सफल पार्न ‘जोश र होश’ भएका पुस्तामा परिणत गरिदियो। त्यस बेला निस्किएको नेतृत्वमा युवालाई सशक्त बनाई नवीन काममा लगाए मात्र देश जीवित रहन्छ भन्ने आत्मबोध भयो। विगतको २० वर्षमा १० लाख सदस्य बलियो “नेपालकै लागि उद्यमी” मञ्चको कुनाकुनासम्म बिस्तार हुन पुग्यो जसले नेपालमै उद्यम गर्न चाहनेलाई प्रभावकारी ज्ञान, सीप र सञ्जाल दिने गर्छ।
टोलटोलमा स्थानीय परामर्श क्लबहरु फस्टाएका छन् जसले नियमित रुपमा त्यहाँका अग्रज र युवाहरुलाई एक ठाउँमा ल्याई सहि मार्ग देखाउने काम गर्छन्। स्थानीय प्रतिभाको श्रृजना, लगन र सफलतासँग टाँस्सिन देश-विदेशका लगानीकर्ता देखि ऋणदाताहरु सबै यही सहरमै खनिएका छन्। नवीनता, प्रतिस्पर्धा र परिवर्तनकै खेल यो सहरको मूल खेल बनेको छ। हरेक परिवारमा उद्यम शुरु गर्नै पर्ने जस्तो मौन संस्कारले गर्दा काठमाडौंलाई उद्यमीहरुका लागि शक्तिशाली चुम्बक बनेको छ।
नागरिक मन्त्र– उद्यम शुरु गर्ने, फस्टाउने, नाफा असुल्ने, फेरि अर्को शुरु गर्ने‘
याे सामग्री विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको ब्लगबाट लिइएकाे हाे। उनकाे मंगलबार निधन भयाे।
