मंगलबार, भदौ ९, २०८३

उज्ज्वल थापा रहेनन्

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज अपराह्न साढे ४ बजे निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले ट्विटर र फेसबुकमार्फत जानकारी दिएका छन्।

उनलाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

काे हुन् थापा?

काठमाडौंमा जन्मेहुर्केका र बूढानीलकण्ठ स्कुलमा पढेका उज्वल उच्च शिक्षाका लागि अमेरिका गएका थिए। तर, उनी देशमै केही गरौं भन्ने भावनाका साथ स्वदेश फर्किए। आफू किन अमेरिकामा नबसेर नेपाल फर्किएँ भन्नेबारे उनले एउटा ब्लगमा लेखेका छन्।

स्वदेश फर्केपछि थापाले विवेकशील नेपाली नामक समूह सुरु गरी त्यसमार्फत नेपालमा वैकल्पिक राजनीतिक संस्कृतिको सुरुवात गरे। उनको नेतृत्वमा विवेकशील समूहले बन्द–हड्ताल तथा हत्या हिंसासहितका गतिविधिको विरोधका लागि वैकल्पिक उपायहरु अपनाएको थियो।

पहिलो संविधानसभामा स्वतन्त्र रुपमा चुनाव लडेका विवेकशीलका केही सदस्यहरु दोस्रो संविधानसभामा भने राजनीतिक पार्टीका रुपमा विवेकशील नेपाली दलमार्फत चुनावमा भाग लिएका थिए।

नयाँ संविधान आएपछिको पहिलो आम चुनावमा साझा पार्टी र विवेकशील नेपाली दल मिलेर बनेको साझा विवेकशीलमार्फत भाग लिएका थिए। थापा र रवीन्द्र मिश्र एकीकृत पार्टीको सहअध्यक्ष बनेका थिए। तर सो एकता केही समयमै तोडियो। 

थापा नेपालमा राजनीतिक चेतनाको आग्रह गर्दै वैकल्पिक राजनीतिक संस्कृति सुरु गर्ने नेताका रुपमा चिनिन्छन्।

धेरै धेरै धन्यवाद उज्वल दाइ।

तपाईं हामी मार्फत सधैं जीवित रहनुहुनेछ।

उज्वल थापा हामीबिच रहनुभएन !

हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन ।

हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ ।

उज्वलबहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,

२०७८ जेठ १८ गते

- मिलन पाण्डेकाे फेसबुकबाट

प्रकाशित: Jun 01, 2021| 11:36 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।