काठमाडौं- कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को नयाँ (सर्जिकल) भवनबाट कोरोना संक्रमितहरूको उपचार सुरु भएको छ। सर्जिकल भवनबाट कोभिड–१९ का बिरामीको उपचार सुरु अस्पतालका उपनिर्देशक डा. अशेष ढुंगानाले जानकारी दिएका हुन्।
सर्जिकल भवनमा बुधबार १० बेड व्यवस्थापन गरी उपचार सुरु गरिएकोमा ३ दिनभित्रै ५० बेडको व्यवस्थापन गरी उपचार सुरु गरिने उनले जानकारी दिए। आवश्यकता अनुसार बेड बढाउँदै लैजाने उनको भनाइ छ।
'अबका केही दिनभित्रै राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा ननकोभिड सेवा प्रारम्भ हुनेछ,' उनले भने, 'अहिले पनि केही ननकोभिड सेवा सञ्चालन गरेका छौँ।’
अहिले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीको उपचार भइरहेको छ। सर्जिकल भवन ५ सय शय्या क्षमताको छ। सर्जिकल भवनमा अक्सिजन प्लान्ट नभएकाले अक्सिजन प्लान्ट व्यवस्थापनका लागि काम अगाडि बढाइएको उनले बताए।
