काठमाडौं– विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। थापा बिरामी भएदेखि नै निरन्तर उनकै साथमा रहेका डा. विश्व दवाडीले अवस्था गम्भीर रहे पनि उपचार जारी रहेको नेपाल समयलाई बताए। उनका अनुसार थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
दवाडीले भने, ‘थापाको स्वास्थ्यलाई लिएर केही भ्रामक समाचार बाहिरिएको पाइयो। यस्ता खबरले हामीलाई दुःखी तुल्याएको छ। हामी कामना गरौं, उज्ज्वलले चाँडै स्वास्थ्यलाभ गर्नेछन्।'
थापाको पीसीआर परीक्षण गर्दा आइतबार नेगेटिभ रिपोर्ट आएको थियो। कोरोना भाइरसले निकै गम्भीर बनाएका कारण अवस्था जटिल बनेको उनको भनाइ छ।
कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार भएको थियो। अवस्था थप गम्भीर बन्दै गएपछि मेडिसिटीमा लगिएको थियो।
