काठमाडौं– नेकपा एमालेले पार्टी एकताका लागि प्रयत्न जारी राख्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
ज्ञवालीले एकताका लागि गठित कार्यदल निष्क्रिय रहे पनि अन्य संयन्त्रबाट छलफल जारी राख्ने बताए। वार्ता टोलीमा रहेका कतिपय नेतालाई एमालेले कारबाही गरेपछि कार्यदल निष्क्रिय रहेको हो। ज्ञवालीले भने, ‘अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको छ।’ जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेपछि निष्क्रिय रहेको उनले बताए।
बैठकपछि ज्ञवालीले भने, ‘हाम्रो प्रयास पार्टी एकता जोगाउने र धेरैभन्दा धेरै साथीहरुलाई मूलधारमा राख्ने नै छ।’ कारबाहीमा परेकालाई चाहिँ समेट्न सकिँदैन भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउन, राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने कुरालाई केही साथीले बडो गर्वका साथ लिनुभएको छ। ती साथीहरु फर्किनुभयो भने राम्रो त राम्रै हुन्छ।’
