काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने राय पेस गरेका छन्।
मंगलबार इजलासमा उनीहरूले यसअघि गरिएको मुद्दाको फैसला र अहिलेको मुद्दामा कुनै सम्बन्ध नहरेको भन्दै मुद्दा हेर्न नमिल्ने भन्ने कुरा उचित नरहेको राय इजलासमा प्रस्तुत गरेका हुन्।
न्यायाधीश तेजबहादुर केसी नेकपा नामको मुद्दामा तीन जना न्यायाधीशले पुनरवलोकन नगरेको बताए। उक्त मुद्दा र प्रस्तुत मुद्दामा स्वार्थ तथा सरोकार नभएकाले यो इजलासबाट आफूलाई अलग गर्न गम्भीर तथ्य र आधार नभएको उनको भनाइ छ।
न्यायाधीश बमकुमार श्रेष्ठले दलको नामसम्बन्धी मुद्दा र यो मुद्दा फरक भएकाले इजलासबाट बाहिरिनु तर्क संगत नभएको बताए।
