काठमाडौं- मंगलबारदेखि कतार, टर्की र चीनका लागि नियमित उडान हुने भएको छ। जेठ १३ गते मन्त्रिपरिषद् बैठकले जुन १ देखि लागू हुने गरी कतार, चीन र टर्कीका लागि नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।
हप्तामा एक दोहोरो उडान (आगमन र प्रस्थान दुवै गर्न पाइने) गरी नियमित उडान सुरु हुने भएको हो। योसँगै टर्कीले बिहीबारका लागि उडान अनुमति लिएको छ। कतार र चीनले भने उडान अनुमति लिएका छैनन्।
नेपाली श्रमिकका लागि कतार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य देश हो। योसँगै वैदेशिक रोजगारीका लागि कतार जान रोकिएका नेपाली श्रमिक सहजै कतार जान पाउने भएका छन्।
यस्तै कतारबाट फर्किन नपाएका नेपालीहरू पनि केही स्वास्थ्य मापदण्डका साथ सहजै स्वदेश फर्कन सक्ने छन्। यसरी अन्तर्राष्ट्रिय उडानमार्फत् नेपाल आउने यात्रुका लागि विभिन्न शर्त तोकिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट र अनिवार्य १० दिनको होटल बुकिङ गर्नुपर्ने प्रावधान छ।
दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट लिएर आएकाहरूलाई १० दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा आफ्नो घर जान दिइने छ।
कसैले एउटा मात्र खोप लगाएको छ र पीसीआर परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा १० दिन क्वारेन्टिन बस्नुपर्ने छ। १० दिनपछि परीक्षण गर्दा कोरोना नेगेटिभ आएमा यात्रु सम्बन्धित गन्तव्यमा जान पाउनेछन्। होटल क्वारेन्टिन खर्च भने आफैंले बेहोर्नुपर्ने छ।
त्यस्तै एउटा पनि खोप नलगाएको तर पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएका यात्रुले पनि १० दिनसम्म होटेल क्वारेन्टिनमा आफ्नै खर्चमा बस्नुपर्ने छ। त्यसपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा घर जान पाइने छ।
यस्तै नेपालबाट कतार जानेका लागि पनि अनिवार्य क्वारेन्टिनको प्रावधान छ। कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलंका र फिलिपिन्सबाट कतार प्रवेश गर्नेहरूलाई अप्रिल २९ देखि अनिवार्य क्वारेन्टिनको नियम लागू गरेको छ।
यी देशबाट कतार प्रवेश गर्नेलाई १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेकाइनिस क्वारेन्टिन बस्नुपर्ने छ। यस्तै यी देशबाट कतार प्रवेश गर्दा तोकिएको स्वास्थ्य केन्द्रबाट पीसीआर परीक्षण गरिएको ४८ घण्टा अघिको रिपोर्ट साथमा राख्नुपर्नेे छ।
यो प्रावधान कतारमा कोरोनाविरुद्धको खोप लगाइसकेका व्यक्तिको हकमा समेत लागू हुनेछ।
