काठमाडौं - चीन सरकारले घोषणा गरेको १० लाख डोज खोपमध्ये ५० हजार डोज खोप नेपाल आइपुगेको छ।
बिहान हिमालय एअरलायन्सले ५० हजार डोज खोप ल्याएको हो। सोही एअरलाइन्सले आजै बेलुका ५० हजार डोज ल्याउनेछ भने भोलि एक लाख डोज ल्याउने खोप महाशाखाले जनाएको छ।
त्यस्तै नेपाल एअरलाइन्सले आजै ८ लाख डोज खोप ल्याउने बताइएको छ।
आज ९ लाख र भोलि थप एक लाख गरी अनुदानको सबै १० लाख डोज भेरोसेल खोप आउने महाशाखाले जनाएको छ।
बिहान आएको ५० हजार डोज खोप टेकुस्थित आपूर्ति शाखाको गोदाममा राखिसकिएको छ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच भएको टेलिफोन वार्तापछि तत्काल थप १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो।
यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल अनुदानमा दिएको थियो।
