काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली लोकतान्त्रिक आन्दोलनमा वकिलहरूले खेलेको भूमिका भुलेको आरोप लगाएका छन्।
'हामी सबै गणतन्त्रको आन्दोलनमा होमिदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो। तर, ती सबै वकिलहरू कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए। आज ती वकिलहरूको मानमर्दन गर्दा उनीहरूको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ। कति चाँडै बिर्सन सकेको उनीहरूको योगदान?', उनले भनेका छन्।
उनले तानाशाहहरूको पतन न्यायालयले गरेको उदाहरण नेपालमै धेरै रहेको बताएका छन्। 'हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालमा गणतन्त्र आएको नहुन सक्थ्यो', उनले भने।
पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको उदाहरण उनले प्रस्तुत गरेका छन्। प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीप्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै भएको उनको टिप्पणी छ। 'सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं', उनले लेखेका छन्।
