काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्। बजेटका योजना तथा कार्यक्रम समयमा सुरु गरी छिटो परिणाम ल्याउन अर्थमन्त्री पौडेलले निर्देशन दिएका हुन्।
'बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं। बजेटका योजना र कार्यक्रम सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिकासहित अघि बढ्नुहोस्,' अर्थमन्त्री पौडेलले भने, 'बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ।'
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोतसम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताए।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरु उपस्थित थिए।
जेठ १५ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गरेका थिए।