मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आगामी बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु भइसक्यो : अर्थमन्त्री पौडेल

आगामी बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु भइसक्यो : अर्थमन्त्री पौडेल

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं– अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ। बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउन अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको पर्सिपल्टदेखि नै बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको हो।  
  
यसै क्रममा सोमबार अर्थमन्‍त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिए। 

‘बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं। बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिका सहित अघि बढ्नुहोस्,’ अर्थमन्त्री पौडेलले भने, ‘बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ।’
      
अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा सुरु गर्नका लागि कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वयन प्रकृया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिए। 

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोत सम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताए। 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरु उपस्थित थिए। 

यसैगरी नियमित रुपमा अर्थ मत्रालय र सम्बन्धित मन्त्रालय तथा निकायहरुसँग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने योजना रहेको छ। दुई दिन अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गरेका थिए। 

प्रकाशित: May 31, 2021| 12:34 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्