विराटनगर- कोरोनाको दोस्रो लहर सुरु भएपछि जारी निषेध आदेशका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगहरु १ महिनादेखि ठप्प छन्।
दैनिक अर्बौँ मूल्यबराबरको उत्पादन गर्दै आएका करिडोर क्षेत्रका उद्योग अहिले सुनसान छन्। लामो समयदेखि उद्योग बन्द भएपछि मजदुरले रोजगारी गुमाएका छन्। निषेध आदेशका कारण करिडोर क्षेत्रका झण्डै २०० उद्योग बन्द भएका छन्। २०० उद्योग बन्द हुँदा करिब २० हजार मजदुरले रोजगारी गुमाएको उद्योग संगठन मोरङले जनाएको छ।
करिडोर क्षेत्रमा सानाठूला गरी ५०० उद्योग छन्। अहिले ४० प्रतिशत उद्योग बन्द अवस्थामा रहेको संगठनको भनाइ छ। ६० प्रतिशत उद्योग सञ्चालनमा रहेको संगठनका अध्यक्ष सुयस प्याकुरेलले बताए। सञ्चालनमा रहेका उद्योगहरु पनि पूर्ण क्षमतामा सञ्चालनमा छैनन्। अत्यावश्यकीय वस्तुको उत्पादन गर्ने उद्योगले ८० प्रतिशत मात्र उत्पादन गरिरहेको बताइएको छ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले दैनिक उपभोग्य वस्तुको उत्पादनबाहेक अन्यको उत्पादन घटेको बताए। उनले भने,‘दैनिक उपभोग्यबाहेकको उत्पादन बजार जान पाएको छैन।’
करिडोर क्षेत्रबाट राज्यले १५ करोड रुपैयाँ भन्सार, मासिक ३५ करोड रुपैयाँ अन्तशुल्क, ११ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर र २७ करोड आयकर अशुल्दै आएको छ।
लामो समयदेखिको निषेध आदेशले साना उद्योगी–व्यवसायीलाई समस्यामा पारेको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताए। साना उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि समस्या भएको उनले बताए।
थापाले भने, ‘संक्रमण घटेर निषेध आदेश खुकुलो भएपछि व्यवसाय सुरु गर्न समस्या हुन्छ।’ व्यवसाय खुल्नेवित्तिकै बैंकले ताकेता गर्दा साना व्यवसायी मर्कामा पर्ने उनले बताए। उनले भने, ‘ठूला व्यवसायीको पनि समस्या छ तर सानाको झन ठूलो समस्या छ।’ कोरोनाको पहिलो लहरपछि धेरै व्यवसायी पलायन भएको थापाले बताए।