काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावपछि पनि आफैले बजेट कार्यान्वयन गर्ने दाबी गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उनले कसैले पनि बजेटबारे नराम्रो भन्न नसकेको र विरोध गर्नेहरुले पनि विरोधका लागि मात्र विरोध गरेको दाबी गरे।
उनले भने, ‘निर्वाचनअघि जेट कार्र्यान्वयन हामी आफैले गर्ने हो आजदेखि नै बजेट कार्यान्वयनको लागि मैले सचिवहरुलाई आफै निर्देशन दिनेछु। निर्वाचनपछि पनि हाम्रै सरकारले बहुमत ल्याउने छ र मैले नै यो बजेट कार्यान्वयन गर्नेछु। त्यसैले बजेट कार्यान्वयनमा कुनै शंका लिनुपर्दैन।’
कार्यक्रममा उद्योगी व्यवसायीहरुले बजेट राम्रो भएको तर चुनावी सरकार भएकोले कार्यान्वयनका लागि समस्या हुने शंका गरेका थिए।
‘कोरोनासँग सरकारले आत्मसमर्पण नगर्ने भन्दै बजेट ल्याउन हुदैन भन्नु कोरोनाको रोकथामको लागि केही नगर भन्नु हो’, अर्थमन्त्री पौडेलले भने।
उनले बजेटको विरोध गर्नेहरुले बुँदा के कारणले नआउनुपर्ने थियो भन्ने विषयमा ठोस उत्तर दिन नसकेको भन्दै बजेटको कार्यान्वयनको जिम्मा पनि आफ्नै सरकारले लिने दोहोर्याए।
त्यस्तै सोही कार्यक्रममा अर्थसचिव शिशिर ढुंगानाले पत्रकारहरुको सवालको उत्तर दिँदै बजेट कार्यान्वयनको चरणमा देशको वित्तिय अवस्थामा समस्या आउन नदिने गरी गरिने बताए।
त्यस्तै उनले आन्तरिक ऋण विकास खर्चको लागि मात्र लक्षित गरेर उठाइने हुँदा दुरुपयोग नहुनेमा ढुक्क रहन पनि आग्रह गरेका थिए। मन्त्री पौडेलले निजी क्षेत्रलाई घुमाउरो पारामा दवाव दिदै भने, ‘सरकारलाई समस्या पर्दा तपाइँहरु साथ दिनुहोस् तपाइँहरुलाई समस्या पर्दा सरकार साथमा छ। एकोहोरो थपडी बज्दैन थपडी बज्नका लागि दुवैहाल संलग्न हुनपर्छ।’
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटको प्रशंसा गरेका थिए।
