मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवालको कम्पनीलाई पुनर्बिमाको स्वीकृति

कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवालको कम्पनीलाई पुनर्बिमाको स्वीकृति

कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाललगायत प्रभावशाली व्यवसायीहरु लगानीकर्ता रहेको हिमालयन रि–इन्स्योरेन्सले नेपालमा कारोबार गर्नका लागि स्वीकृति पाएको छ। 
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं– कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाललगायत प्रभावशाली व्यवसायीहरु लगानीकर्ता रहेको हिमालयन रि–इन्स्योरेन्सले नेपालमा कारोबार गर्नका लागि स्वीकृति पाएको छ। 

हालसम्म नेपाल रि–इन्स्योरेन्स कम्पनीले एकछत्र राज गरेको बजारमा नेपाल बिमा समितिले आइतबार हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई दोस्रो कम्पनीको रुपमा कारोबार गर्न स्वीकृति दिएको हो। 

कम्पनीका मुख्य लगानीकर्ता सुलभ अग्रवाललाई ०७६ चैत २५ गते ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। करिब तीन हप्ता प्रहरी हिरासतमा बसेर अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भएका थिए। तत्काल निर्दोष हुन् भन्न सक्ने अवस्था नदेखिएको र पछि ठहर भएबमोजिम निर्णय गर्ने भन्दै अदालतले पुर्पक्षका लागि तारेखमा राखेर रिहा गर्न आदेश दिएको थियो। उनको मुद्दा अझै टुंगिसकेको छैन। 

बिमा समितिका प्रवक्ता राजुरमण पौडेलका अनुसार आइतबार समितिको बैठकले हिमालयन रि–इन्स्योरेन्सलाई दोस्रो पुनर्बिमा कम्पनीको रुपमा स्वीकृति दिएको हो। ‘लगानीकर्ताहरुको बारेमा सम्पूर्ण जानकारी त छैन। हामीले आवेदन खोल्दा सुलभ अग्रवाल लगानीकर्ता लेखेको देखेको हो,’ प्रवक्ता पौडेलले भने। उनका अनुसार हिमालयन–रि इन्स्योरेन्स कम्पनीले स्वीकृतिको पत्र भने लगिसकेको छैन।

रि–इन्स्योरेन्सको अनुमति पाएको हिमालयन रि–इन्स्योरेन्समा शंकर ग्रुपका अध्यक्ष सुलभ अग्रवाल, साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, महासंघकी पूर्वअध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारका, झापाका व्यवसायी दीपक भट्टलगायत ठूला व्यावसायिक घरानाका व्यक्तिहरुको लगानी छ। 

सो कम्पनीलाई स्वीकृति दिलाउनका लागि व्यवसायी दीपक भट्टको ठूलो भूमिका रहेको बताइन्छ। उनी राष्ट्रपति विद्यादेवी भण्डारीका विश्वासपात्र हुन्। नेपाल राष्ट्र बैंकमा बमबहादुर मिश्रलाई डेपुटी गभर्नर बनाउन पनि उनको ठूलो योगदान रहेको जानकारहरु बताउँछन्। 

भट्टकै आग्रहमा बिमा समितिले २१ दिने सूचना जारी गरी नयाँ रि–इन्स्योरेन्स थप्नका लागि वैशाख १६ गते सार्वजनिक सूचना जारी गरेको थियो। अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्योरेन्स र जेन्युइन रि–इन्स्योरेन्सले लाइसेन्सका लागि आवेदन दिएका थिए। 

प्रकाशित: May 31, 2021| 10:32 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्