बुटवल- लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा भएको मतगणना सुरु भएको छ। ३ सय मतदातामध्ये २९७ मत खसेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी दाङले जनाएको छ। मतगणना दिउँसो साँढे ३ बजेबाट शुरु गरिएको निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए ।
निर्वाचन कार्यालयका अनुसार प्रदेशसभाका ८३ जना सांसदले नै भोट दिएका छन्। स्थानीय तहका २१७ जनप्रतिनिधिमध्ये ३ जना अनुपस्थित भएका हुन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षको मतभार १८ हुने हुने व्यवस्था छ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले बहिष्कार गरेका हुन्। उनले कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको भन्दै मतदानमा सहभागी नहुने घोषणा गरेका थिए।
यस्तै, पाल्पाका जिल्लाको गुल्मिदवार गाँउपालिकाका अध्यक्ष अशोक थापा काठमाडौंमा उपचाररत भएकाले मतदानमा सहभागी हुन सकेनन्। बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद भारतमा उपचाररत रहेकाले उपस्थित हुन नसकेका हुन्।
दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा कोभिड पोजिटिभका लागि छुट्टै मतदानस्थल बनाइएको थियो। कोभिड पोजेटिभ २७ जनाले मत दिएका छन्।
उपनिर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन्। पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ। खड्का एमालेको ओली पक्षको समर्थनमा उठेका हुन्।
