काठमाडौं– जनता समाजवादी पार्टी ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने भएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेताहरुले सोमबार गरेको छलफलमा ८ मन्त्री र २ राज्यमन्त्रीमा सहमति जुटेको बताइएको छ।
‘८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने गरी सहमति जुटेको छ,’ ठाकुर निकट एक कार्यकारिणी समिति सदस्यले भने, ‘अब आन्तरिक छलफल गरेर एक/दुई दिनमै सरकारमा सहभागी हुन्छाैं।’
पूर्व माओवादीबाट एमाले प्रवेश गरेर मन्त्री भएकाहरु जिम्मेवारविहीन भएपछि ती मन्त्रालय रिक्त छन्। प्रधानमन्त्री ओलीले गृह मन्त्रालयबाहेक अन्य मन्त्रालय जसपालाई दिन तयार भएको बालुवाटार स्रोतले जनाएको छ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहभित्र पनि ककसलाई मन्त्री बनाउने भन्ने समस्या छ।
बिहान साढे १० बजेदेखि करिब साढे तीन घण्टा बालुवाटारमा वार्तामा जसपाकाे ठाकुर- महताे पक्ष सरकारमा जान सहमत भएकाे हाे।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहभित्र पनि ककसलाई मन्त्री बनाउने भन्ने समस्या छ। उपेन्द्र यादवको समूहबाट अलगिएर आएकाहरुले आफूहरुलाई जसरी पनि मन्त्री बनाउनुपर्ने दबाब दिइरहेकाले व्यवस्थापन गर्न केही चुनौती देखिएको एक नेताले जानकारी दिए।
