काठमाडौं – जनताको मात्रै नभई जनधनको सुरक्षा गर्नु प्रहरीको प्रमुख कर्तव्य हो। प्रहरी समाज र राष्ट्रको पहरेदार पनि हो।
प्रहरीको उपस्थितिमा आमसर्वसाधारणले शान्ति महसुस गर्छन्। प्रहरीको प्रमुख काम नै समाजमा अमनचयन कायम राख्नु हो।
तर, सिरहामा भने प्रहरीले नै चोरी गरेका छन्। उनीहरूले बन्द रहेको मदिरा पसलबाट मदिरा चोरी गरेका हुन्।
जनमानसमा प्रहरीप्रतिको विश्वास घट्दै गएका बेला प्रहरीको यस्तो कार्यले समग्र प्रहरी संगठनले नै बदनामी व्यहोरिरहनु परिरहेको छ।
सिरहाका असईसहित तीनजना प्रहरीले निषेध आदेशका बेला बन्द भएको पसलबाट मदिरा चोरी गरेका हुन्।
सिरहाको इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, जवान अन्नुकुमार राय र नरेशकुमार रायले बन्द पसलबाट मदिरा चोरेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालिग्राम शर्माले जानकारी दिए।
‘पसल बन्द रहेका बेला उनीहरू तीनजना गएर भोड्काको हाफ–हाफ बोेतल चोरेका रहेछन्, उनीहरूलाई निलम्बित गरेका छौं,’ शालिग्रामले भने।
मदिरा चोरेको भेटिएपछि तीनैजनालाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको छ।
लहान नगरपालिका–२३, गढीचोकमा रहेको पूजा मदिरा पसलमा जेठ ९ गते होहल्ला भएपछि प्रहरी टोली निरीक्षणमा पुगेको थियो। प्रहरी आएको देखेपछि पसल सञ्चालकसहित सबैको भागाभाग भएको थियो।
त्यही सबै भागेको मौका छोपेर तीनै जना प्रहरीले आधा– आधा बोतल भोडका लिएर बाहिरिएका थिए, जुन घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो।
बर्दिधारी प्रहरी नै चोरीमा संलग्न भएपछि प्रहरीलाई हेर्ने आमसर्वसाधारणको नजर बद्लिएको छ।
‘ड्युटीमा रहेका प्रहरीले गैरकानुनी काम गरेको पाएकाले उनीहरूलाई निलम्बित गरेका हौँ,’ सानो ठूलो जस्तो भए पनि चोरी त चोरी नै हो,’ डीएसपी शर्माले नेपालसमयसँग भने।
