काठमाडौं- नेकपा एमाले र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरूबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताहरू र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहितका नेताहरूबीच भेटवार्ता भइरहेको छ।
ठाकुर निकट एक नेताले केहीबेर अघि प्रधानमन्त्रीसहित एमालेका नेताहरूसँग छलफल गर्न अध्यक्षसहितका नेताहरू बालुवाटार गएको जानकारी दिए।
‘सम्भवत आजै नभए भोली सरकारमा सहभागी हुने निश्चित भएको छ,’उनले भने,‘अहिले भइरहेको छलफलपछि ठोस सहमतिको कुरा थाहा हुन्छ।’ जसपाले आठ मन्त्री र २ राज्यमन्त्रीको माग गरेको छ। प्रधानमन्त्री पनि जसपाको मागमा सहमति भइसकेको बुझिएको छ।
ती नेताका अनुसार जसपाले अघि सारेका अन्य मागहरूका बारेमा आजको भेटवार्तामा थप केही छलफल हुने बताइएको छ। जसपा विभाजनको दिशामा अघि बढेका बेला महन्थ राजेन्द्र पक्ष सरकारमा सहभागी हुन लागेको हो। एकले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्नेसम्मको चेतावनी दिइरहेका छन्। आजै बिहान जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ–आफ्नो बाटो लाग्नुपर्ने बताएका थिए।
नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य गर्न अघि बढेको हो।
