काठमाडौं– चीनले अनुदानमा दिन लागेको ८ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज राति बेइजिङ जाने भएको छ।
निगमको चार्टर्ड विमान राति ११ बजे जाने विमान भोलि नेपाल आइपुग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप मंगलबारसम्म नेपालमा आइपुग्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनपिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए। चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै ८ लाख डोज खोप नेपाल आउन लागेको हो।
चीन सरकारले आइतबार मात्रै ६ मिलियन आरएमबी अतिरिक्त अनुदान सहायताअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, ३० थान डीआर मेसिन, २० थान पोर्टेवल अल्ट्रासाउन्ड, ३० थान एनेस्थेसिया मेसिन आदि स्वास्थ्य सामग्री पनि तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरेको छ।
