स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान्? मैले त्यसबेला यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति-कति थान आत्मग्लानि सँगालिनेछन् होला महामारी सकिँदासम्म? अन्य गर्न नजानेर प्रश्नमै अन्त्य गरेँ है।
अस्पतालमा एकैदिन देखिएका कोभिडले गिजोलेका परिवारका दृश्य
१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। परिवारसँगको सल्लाहमा वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन। अझै निकै अक्सिजन चाहिने हजुरबा सधैँ मलाई डिस्चार्ज गरिदिनू न डा. साब भन्नुहुन्छ।
२. अर्का बा बिस्तारै तङ्ग्रिदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन।
३. अर्का बाआमा दुवैजनालाई कोभिड। एक जना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने। छोराको अर्को अस्पतालको आईसीयूमा मृत्यु भएको खबर कान सुन्ने चाहिँलाई सुनाइयो। उहाँले जीवनसाथीलाई बताउन सक्नुभएन। २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ।
४. ५-६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपीडीमा फलोअपमा। रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन्। अरू लक्षण छैनन्। जाँच्दा सबै राम्रै छ। म उल्लू 'आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि? अब त डराउनुपर्दैन, अब बाँचियो है' भन्छु।
आमाले 'खै आफू मात्र बाँचेर के गर्नु बाबु, उहाँले छोडेर गइहाल्नुभयो' भन्दै बरर आँसु झार्नुहुन्छ। बा उहाँ अस्पतालमै हुँदै बित्नुभएको रहेछ।
महामारीको अघिल्लो उभारको बेलाको एउटा अनुभव
दाइ उमेरका उहाँ। खासमा झन सिकिस्त उहाँकी श्रीमतीलाई पनि हाम्रै ईमर्जेन्सीमा ल्याइएको रहेछ।
तर, आईसीयूमा बेड नभएकोले भाउजूलाई चाहिँ अर्को अस्पतालमा रेफर गरिएको रहेछ। हरेक दिन राउन्डमा उहाँ मलाई लौन मेरी श्रीमतीलाई पनि यही आईसीयूमा सार्न बेड मिलाइदिनोस् न भन्नुहुन्थ्यो। अन्यत्र बेडै नपाएका अरू सिकिस्त बिरामी पनि धेरै आइरहेका छन्, तिनलाई आईसीयूमा प्राथमिकता दिनु परिहाल्छ।
उता पनि तपाईंकी श्रीमतीको उपचार गर्ने राम्रो टिम होला, चिन्ता नलिनुहोस् भन्थें। निको भएर डिस्चार्ज हुने दिन दाइले भर्खर भाउजूको मृत्युको खबर पाउनुभएको रहेछ। रुँदै भन्नुभोः डा. साब, तपाईंले उसलाई यहाँ आईसीयूमा सारिदिनुभएको भए ऊ पक्कै बाँच्थी।
यस्ता बेलामा ती अथाह वेदनामा रहेकालाई के भन्ने? समवेदना- जुन 'सम' कसैगरी हुनै सक्दैन- पनि कसरी दिने?
त्यसको केही भेउ नपाएको, त्यस्ता अवस्थामा पूरै निरीह मजस्ताले कहिलेसम्म यस्तो सधैँ फेल भइने, सधैँ भाग्न मन लाग्ने जाँचमा परिरहनुपर्ने होला?
महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान्?
स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान्? मैले त्यस बेला त्यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति-कति थान आत्मग्लानि सँगालिनेछन् होला महामारी सकिँदासम्म? अन्य गर्न नजानेर प्रश्नमै अन्त गरेहै।
