धनगढी- डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमित श्रीमानको मृत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेकी छिन्। श्रीमानको मृत्यु भएपछि बेपत्ता भएकी बाजुराको खप्तड छेडेदह गाउँपालिका-७ की सरिता रावतको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उपचारका क्रममा उनका श्रीमान २९ वर्षीय सुरेश कठायतको शनिबार बिहान मृत्यु भएको थियो। ८ महिना अगाडि मात्र उनीहरूबीच प्रेम विवाह भएको थियो।
श्रीमानको मृत्युपछि बेपत्ता सरिताको खोजी गर्दा शनिबार बेलुका अमरगढी नगपालिका–५ स्थित सुगरखाल वनमा सरिताको शव रुखमा झुण्डिएको अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए। सरिताको शव अस्पतालबाट डेढ सय मिटरको दूरीमा भेटिएको प्रहरी निरीक्षक चन्दले बताए। सरिताको शव परीक्षणका लागि अस्पतालमा राखिएको चन्दले बताए।
कोरोना संक्रमित उनको श्रीमान जेठ २ गतेदेखि डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। बाजुरा जिल्ला अस्पतालमा उपचाररत रावतलाई भेन्टिलेटरको आवश्यकता परेपछि थप उपचारका लागि जेठ २ गते डडेल्धुरामा रिफर गरिएको थियो। कोरोना संक्रमणपछि उनलाई निमोनिया भएको अस्पतालको भनाइ छ।
