काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा मंगलबार मात्र सुनुवाइ हुने भएको छ। यसअघि सोमबारका लागि सुनुवाई हेर्दाहेर्दैमा राखिएको जानकारी दिइएको भएपनि सोमबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र र तेजबहादुर केसीबारे निर्णय लिइने भएपछि मंगलबारका लागि सुनुवाई सरेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए।
यसअघि रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले न्यायाधीशद्वय श्रेष्ठ र केसीले विवादित फैसला गरेकाले संवैधानिक इजलासका लागि योग्य नभएको भनदै आपत्ति जनाएका थिए। कानुन व्यवसायीहरु गोविन्द बन्दी, माधवप्रसाद यादव, रमण श्रेष्ठ, टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, शम्भु थापालगायतले न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको संवैधानिक इजलासमा सहभागिताबारे प्रश्न उठाएका थिए।
न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भने आक्रोशित भएका थिए। ‘के तपाईंहरुले न्यायाधीश छान्ने हो र? अब के तपाईंहरुलाई दिउँ? पक्षविपक्षले यो न्यायाधीश हुन्न भनेर हुन्छ,' राणाले भने, ‘न्यायालयप्रति त विश्वास हुनुपर्यो नि। तपाईंहरुले पनि कानुनमा रहेर हो नि बहस गर्ने। हामीले पनि संविधान र कानुन त हो हेर्ने, होइन!’
उनले न्यायाधीश को राख्ने नराख्ने भन्ने विषयमा विवाद हुँदा एक घन्टा २५ मिनेट बितिसकेको भन्दै असन्तुष्टि जनाएका थिए। उनको प्रश्न थियो, ‘अब त भयो होला नि, कि यही विषयमा अल्झिने हो र?’
फागुन २३ गते नेकपालाई एमाले र माओवादीकै अवस्थामा फर्काउने फैसला दिने न्यायाधीश श्रेष्ठ र उक्त फैसलामा पुनरावलोकन नदिने न्यायाधीश केसीको सहभागीता इजलासमा हुन नहुने तर्क कानुन व्यवसायीको थियो।
