काठमाडौं- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अनुशासन नमानेको र पार्टी फोडेको आरोप लगाएका छन्। महिला तथा बालबालिका मन्त्रालयद्वारा आइतबार बालुवाटारमा आयोजना रिएको तेस्रो राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
ओलीले प्रधानमन्त्रीमा आफूलाई विश्वासको मत नहालेको र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै नेपाल समूहप्रति आक्रोश व्यक्त गरे।
‘अनुशासन मान्न नपर्ने, पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने। दुनियाँमा कहीँ हिस्ट्रीमा अहिलेसम्म नभएको आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने। कहिले अर्को सरकार बनाउनका लागि समर्थन गर्न पुग्ने,' ओलीले नेपाललाई लक्षित आक्रोशपूर्ण टिप्पणी गरे।
नेपाललगायतका नेताले देशका विरुद्ध अनिष्ट गरिरहेको समेत उनको आरोप थियो।
नेपाल समूहसहितको विपक्षी गठबन्धनले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो। जेठ ६ मा भएको राष्ट्रिय सभा बागमती प्रदेशमा भएको निर्वाचनमा ओली पक्षका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै नेपाल समूहका खिमलाल देवकोटा विजयी भएपछि नेपालप्रति ओलीको आक्रोश झन् बढेको छ।
