काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कानुन व्यवसायीसँग तपाईंहरुले न्यायाधीश छान्ने हो भनेर सोधेका छन्। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको दोस्रो दिनको सुनुवाइमा क्रममा कानुन व्यवसायीले संवैधानिक इजलासमा राखिएका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठाएपछि राणाले यस्तो प्रश्न गरेका हुन्। रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले उनीहरूलाई इजलासमा राख्न नमिल्ने जिकिर गरेका थिए।
प्रधानन्यायाधीश राणाले भने, ‘के तपाईंहरुले न्यायाधीश छान्ने हो र? अब के तपाईंहरुलाई दिउँ? पक्षविपक्षले यो न्यायाधीश हुन्न भनेर हुन्छ।' उनले न्यायालयप्रति सबैको विश्वास हुनुपर्ने बताए। राणाले भने, ‘न्यायालयप्रति त विश्वास हुनुपर्यो नि। तपाईंहरुले पनि कानुनमा रहेर हो नि बहस गर्ने। हामीले पनि संविधान र कानुन त हो हेर्ने, होइन!’
उनले न्यायाधीश को राख्ने नराख्ने भन्ने विषयमा विवाद हुँदा एक घन्टा २५ मिनेट बितिसकेको भन्दै असन्तुष्टि जनाएका थिए। उनले भनेका थिए, ‘अब त भयो होला नि, कि यही विषयमा अल्झिने हो र?’ कानुन व्यवसायीहरु गोविन्द बन्दी, माधवप्रसाद यादव, रमण श्रेष्ठ, टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, शम्भु थापालगायतले न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको संवैधानिक इजलासमा सहभागिताबारे प्रश्न उठाएका थिए।
फागुन २३ गते नेकपालाई एमाले र माओवादीकै अवस्थामा फर्काउने फैसला दिने न्यायाधीश श्रेष्ठ र उक्त फैसलामा पुनरावलोकन नदिने न्यायाधीश केसीको सहभागीता इजलासमा हुन नहुने तर्क कानुन व्यवसायीको थियो।
