मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महान्यायाधिवक्ताले भने– प्रधानन्यायाधीशले प्रधानमन्त्री भेटेको भनेर मिडिया ट्रायल गर्न खोजियो

महान्यायाधिवक्ताले भने– प्रधानन्यायाधीशले प्रधानमन्त्री भेटेको भनेर मिडिया ट्रायल गर्न खोजियो

महान्यायाधिवक्ता रमेश बडालले न्यायालयलाई दबाब दिने काम भएको बताएका छन्।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले न्यायालयलाई दबाब दिने काम भएको बताएका छन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा आइतबार उनले सर्वोच्च अदालतमा भने, ‘हामीले कानुन पढ्दा स्वच्छ सुनुवाइ हुनुपर्छ भनेर पढ्छौं। तर अहिले के स्वच्छ सुनुवाइ भएको छ? कानुन व्यवसायीले मिडिया रणनीति बनाउनुभयो। यो मुद्वामा दबाब सिर्जना गर्ने इजलासमा दबाब दिने काम भएको छ। मिडिया ट्रायल गर्ने काम भएको छ।’

अरुलाई औंला उठाउँदा आफूतिर पनि औंला तेर्सिने टिप्पणी उनले गरे। विघटनको विरुद्धमा बहस गर्ने कानुन व्यवसायीहरुलाई लक्षित गर्दै उनले भने, ‘मैले मिडिया ट्रायल गर्न जान्दिन। त्यसमा उहाँहरु पोख्त हुनुहुन्छ। स्वच्छ सुनुवाइ हुनुपर्छ। प्रधानमन्त्रीले प्रधानन्यायाधीश भेटे भनेर मिडिया ट्रायल गरियो अदालतलाई दबाब दिनका लागि।’  

महान्यायाधिवक्ता बडालले संसद् विघटनसम्बन्धी मुद्दामा बहस गर्ने अधिवक्ताहरुले सीमा नाघेको भन्दै के गर्नुपर्छ भन्नेबारेमा आफूलाई जानकारी भएको चेतावनी दिए।

‘वरिष्ठ अधिवक्ताले मिडिया मुभमेन्ट गर्नुपर्छ भन्नुभयो, निर्णय नै गर्नुभयो। वरिष्ठहरु मिडिया परिचालित गर्दै हुनुहुन्छ। म नेपाल राज्यको महान्यायाधिवक्तामात्रै होइन, बार काउन्सिलको अध्यक्ष पनि हो। महान्यायाधिवक्ताले भन्न पाउँदैनस् भन्ने? मैले सहेको छु तर अब सीमा नाघ्यो। बार काउन्सिलको अध्यक्षको हैसियतमा अधिवक्ताहरुलाई के गर्नुपर्छ मैले जानेको छु।’

उनले यसो भनेपछि न्यायाधीश आनन्दमोहन भट्टराईले इजलासबाहिर गएर कारबाही गर्न र यहाँ सम्हालिएर बहस गर्न सुझाव दिएका थिए। ‘कारबाही इजलासबाहिर गएर गर्नुहोला। यहाँ सम्हालिएर विषयभित्र बहस गर्नुहोला,’ भट्टराईले सुझाव दिए।

नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले इजलासमा कसलाई राख्ने भन्ने कुरा प्रधानन्यायाधीशको अधिकारको विषय भएको बताउँदै त्यसमा प्रश्न उठाउन नहुने तर्क गरे।

‘यो त खाली अदालतप्रतिको अविश्वासको कुरोमात्रै हो। निवेदक कानुन व्यवसायी र उहाँहरुको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको मुद्दा त कुनै न कुनै न्यायाधीशले हेर्नुभएकै छ। ऋषि कट्टेलको मुद्दासँग यो मुद्दाको कुनै साइनो छैन। जबर्जस्ती दबाब सिर्जना गर्ने काम भएको छ। साथीहरूले उठाएको विषयको अर्थ छैन। कुनै अर्कै मुद्दाको विषयलाई ल्याएर अहिलेको मुद्दामा जोड्नु उचित छैन,' उनले भने।

प्रकाशित: May 30, 2021| 07:47 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।