काठमाडौं- हाल नेपालमा यास् चक्रवातको प्रभाव रहेकाले वर्षा भइरहेको छ। 'यास्' चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावले वर्षा भइरहेको हो।
मौसम विद् शान्ति कडेल शनिबारबाट चक्रवातको प्रभाव कमजोर बन्दै गइरहेको बताउँछिन्। उनले सोमबारसम्म चक्रवातको सामान्य प्रभाव कायमै रहने बताएकी छन्।
'केही दिन पहिलेको जस्तो दिनरात वर्षा हुँदैन। तर, मौसम पूर्ण रुपमा सफा पनि हुँदैन। बेलाबेला वर्षा भइरहने हुन्छ', उनले भनिन्।
उनले आज राति प्रदेश १, २ र बागमतीमा भारी वर्षाको सम्भावना रहेको बताइन्। काठमाडौंमा बैशाख १५ देखि जेठ १५ अर्थात मे महिनामा १२३.६ मिलिलिटर वर्षा हुनुपर्नेमा १२८.४ मिलिमिटर वर्षा भएको उनले जानकारी दिइन्।
यस्तै हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ को तराई र प्रदेश २ का केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।
