काठमाडौं- बाल्यकालमा मोजाको बल नखेल्ने कमै होलान् । नायक रमेश उप्रेती पनि ती मध्येकै हुन् । फुटबल बुझ्ने भएयताका सबै विश्वकप उनले नछुटाई हेरेका छन्, रातभर जागा बसेर ।
चार वर्षे अमेरिका बसाइमा उनले विश्वकपलाई अझ नजिकबाट बुझे । तर, आफूले मन पराएको टिमको जर्सी लगाउने इच्छा उनमा जागेन । भन्छन्, ‘हामीले खेल र खेलाडीको प्रशंसा गर्ने हो, राष्ट्रको होइन ।’
विश्वकप नजिकिँदा युवा–युवतीमा देखिने जर्सी लगाउने चलनलाई उनी ‘टी–सर्ट स्टन्ट’को संज्ञा दिन्छन् । र, त्यसले फेसनको रूप लिएको उनको ठहर छ । उनी भने जर्सीमा होइन, खेलमा बढी चाख दिन्छन् ।
उनले कुनै खेलाडी रोजिसकेका छैनन् । भन्छन्, ‘चार वर्षपछि आउने खेल भएकाले खेल हेरेपछि मात्रै खेलाडीप्रतिको धारणा बन्ने हो ।’ तर, उनलाई कुनै एसियाली मुलुकले विश्वकपको उपाधि उचालिदिए हुन्थ्योजस्तो लाग्छ । ‘अबको विश्वकप जापानले जित्नुपर्छ,’ उनी भन्छन् ।
उप्रेती कुनै राष्ट्रको टिम छान्ने कुरामा निकै चुजी छन् । र, विश्वका धनाढ्य राष्ट्रले खेल्दै आएको विश्वकपबाट नेपालले पनि सिक्ने धेरै कुरा देख्छन् ।
विश्वकपसम्म उक्लन राष्ट्रको समृद्धि पहिलो खुड्किलो मान्छन्, उनी । नेताहरूले खेलकुद, कला र संस्कृतितिर ध्यानै नदिएको उनको गुनासो छ । भन्छन्, ‘राष्ट्रप्रति इमानदार नेताको कमीले यस्तो भएको हो ।’
नेपाली युवाले विश्वलाई बुझ्न चाहिरहेको उनको भनाइ छ । र, क्रिकेटमा सन्दिप लामिछानेजस्ता खेलाडी अन्तर्राष्ट्रियस्तरमा पुगेकोप्रति गर्व गर्छन् । उप्रेती भन्छन्, ‘खेलाडीको मिहिनेतलाई अन्तर्राष्ट्रिय खेल जगतले चिनिसक्यो तर नेपालले अझै चिन्न सकेको छैन ।’
‘ऐश्वर्य’ फिल्म प्रदर्शनका लागि उनी दुबई हुँदै बेलायत जाँदैछन् । अघिल्ला चरणका खेलहरू यसपटक छुटाउनेछन्, उनले । तर, दुबई र बेलायतमा पनि प्रत्यक्ष प्रसारण हेर्न पाइने आशामा छन् ।
नेपालमा अर्जेन्टिनाका प्रशंसक निकै छन् । अझ, लियोनेल मेस्सीका फ्यानको संख्या ठूलो छ । १० नम्बरको टी–सर्ट लगाएका बालबालिकादेखि बयस्क व्यक्तिसम्म भेटिन्छन् ।
उप्रेतीलाई भने अर्जेन्टिनाप्रति कुनै चासो छैन । खेलाडीप्रति भने उनको सद्भाव छ । भन्छन्, ‘अर्जेन्टिनाका खेलाडीको खेलको फ्यान हुँ, टी–सर्ट लगाउनै पर्छ भन्ने छैन । जुन देशले आजसम्म नेपालीलाई भिसा दिएको छैन, त्यस देशको विम्ब आउने टी–सर्ट लगाउनुको के मजा ।’
अर्जेन्टिनाका खेलाडीको जादुयी खेलप्रति भने उनी नतमस्तक छन् । र, आदर गर्छन् ।
उनको झुकाव पोर्चुगल, जर्मनीजस्ता देशका खेलाडीप्रति छ । जुन देशले जिते पनि राम्रो खेल र खेलाडीको तारिफ गर्छन्, उप्रेती । र, विश्वकपको ‘प्रि–क्वार्टरफाइनल’देखिका सबै खेल हेर्ने योजनामा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४