काठमाडौं – धनगढी उपमहानगरपालिका-३ की मीना अधिकारी पेसाले स्वास्थ्यकर्मी हुन्। स्वास्थ्य सेवासँगै उनी सामाजिक काममा पनि खटिएकी छन्।
अहिले उनले सेती प्रादेशिक अस्पतालमा खानाको समस्यामा परेका ५० जना बिरामीलाई बिहान–साँझ खानाको व्यवस्था गरिरहेकी छन्। उनले घरमा खाना बनाएर अस्पतालसम्म पुर्याउँछिन्।
सेती अस्पतालले दैनिक १०० जनालाई खाना खुवाउने सहमति दिएको उनी बताउँछिन्। ‘महामारी नियन्त्रणका लागि निषेध आदेश जारी हुँदा होटलहरू बन्द छन्,’ उनले भनिन्, ‘अस्पतालमा खानाको समस्यामा परेका बिरामीलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो।’
सहयोग गर्ने सोच कहाँबाट आयो ? मीना भन्छिन्, ‘काठमाडौंकी साथीले समस्या परेको सुनाएपछि धनगढीमा पनि यस्तो समस्या होला भनेर अभियान थालेकी हुँ।’
उनले खाना खान समस्यामा परेका बिरामीले मोबाइल नम्बर ९८६२६७२८५५ मा सम्पर्क गर्न अनुरोधसमेत गरेकी छन्।
