विराटनगर- मोरङमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।
नोबेल अस्पताल विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–३ का २२ वर्षीय युवकको शनिबार बिहान ६:४५ बजेतिर मृत्यु भएको हो। सुनसरीको इटहरी –२० की ३९ वर्षीया महिलाको बिहान ६ बजेतिर नोबेलमै मृत्यु भएको छ।
सिरहाको धनगढी नगरपालिका–१० का ७० वर्षीय पुरुषको शुक्रबार राति १ बजे मृत्यु भएको हो। मोरङको सुनवर्षी नगरपालिका–४ का ५८ वर्षीय पुरुषको गएराति शुक्रबार १२:३० बजेतिर मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले जानकारी दिए।
कोशी अस्पताल कोभिड उपचार युनिटमा विराटनगर महानगरपालिका–६ की ४० वर्षीया महिलाको शनिबार बिहान ९:१५ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।
उनका अनुसार सिरहाको कल्याणपुर–७ का ५९ वर्षीय पुरुषको शुक्रबार राति ८ बजेतिर मृत्यु भएको छ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१४ की ५० वर्षीया महिलाको बिहानका राति ३:४५ बजेतिर मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए। उनका अनुसार सुनसरीको बर्जु गाउँपालिका–२ का ६० वर्षीय पुरुषको पनि बिहान ४:१५ बजेतिर मृत्यु भएको छ।
विराट शिक्षण अस्पतालमा मोरङको बूढीगंगा-२ का ५५ वर्षीय पुरुषको शुक्रबार राति २:४५ बजेतिर मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले बताए। उनका अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको उपचारकै क्रममा विराटमा राति ९ बजेतिर मृत्यु भएको छ।
मोरङको लेटाङ नगरपालिका–३ का ५२ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा उनलाई जेठ ९ गते कोरोना पुष्टि भएको थियो।
कोरोना देखिए पनि घरमै आराम गरेर बसिरहेका पुरुषको एक्कासि स्वास्थ्यमा समस्या देखिएर शुक्रबार राति ९:३० बजेतिर मृत्यु भएको जानकारी नगरपालिकाले दिएको छ।
