काठमाडौं - नेकपा एमालेका नेता वामदेव गौतमले एमालेका तीन मुख्य नेता गणतन्त्रको विरुद्धमा रहेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना मन्तव्य दिँदै गौतमले यस्तो बताएका हुन्।
‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो,’ उनले भनेका छन्, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ।’
‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ,’ उनले भनेका छन्।
उनले १४ औंं गणतन्त्र दिवस अवसरमा सहिद र अग्रज नेताहरूलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै सहिदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन्।
‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्थ्यो। उहाँहरूमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न। अरू दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ,’ व्यक्तव्यमा भनिएको छ।
