मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गणतन्त्रलाई परिस्कृत गर्न जनअभिमतको कदर अनिवार्य छ : उपराष्ट्रपति

गणतन्त्रलाई परिस्कृत गर्न जनअभिमतको कदर अनिवार्य छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन्। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन्। 

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गरेका छन्। 

राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपतिले अपिल गरेका छन्। 

गणतन्त्र प्राप्त गर्न भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनान्दोलनका सहिदप्रति श्रद्धासुमन व्यक्त गर्दै उपराष्ट्रपतिले सहिद परिवार, घाइते र बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरेका छन्। उनले गणतन्त्र प्राप्तिको क्रान्ति र आन्दोलनमा सहभागी सबै नेपाली नागरिकलाई सम्मानका साथै बधाई ज्ञापन गरेका छन्। 

‘संविधान कार्यान्वयनका क्रममा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार बनेका छन्। महिला, आदिवासी जनजाति, दलित, मधेशी, अल्पसंख्यक, उत्पीडित क्षेत्रका समुदायका हकअधिकारलाई संविधानतः थुप्रै अधिकार दिइएको छ। तर, विकासको स्वाभाविक प्रक्रियाले हुने परिवर्तनभन्दा आधारभूत नेपाली जनताको आर्थिक-सामाजिक जीवनमा परिवर्तन ल्याउन सकेका छैनौंँ। एकात्मक, सामन्तवादी, पुराना सोच, शैली विद्यमान छन्। यसले जनतामा निराशा बढ्न थालेको सहजै महसुस गर्न सकिन्छ,’ सन्देशमा भनिएकाे छ। 

गणतन्त्रलाई परिस्कृत गर्नका लागि संविधानसम्मत चल्न र जनअभिमतको कदर गर्न अनिवार्य रहेको जनाउँदै उनले राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि प्राप्त भएको जनमतलाई सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। 

गणतन्त्र दिवसले गणतन्त्रलाई परिष्कृत, जनमतको कदर, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता सुदृढ, राजनीतिक समस्याको निराकरण र कोरोना भाइरसको महाव्याधि नियन्त्रण गर्न सबै नेपालीलाई प्रेरणा दिने उनले  विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित: May 29, 2021| 01:20 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।