काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको अन्तर्राष्ट्रिय शाखाले कोरोना नियन्त्रण तथा उपचारमा सहयोग गर्ने भएको छ। प्रतिष्ठानका प्रमुख एवम् कांग्रेस उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भर्चुअल कार्यक्रमका सहभागी अन्तर्राष्ट्रिय शाखाका सदस्यहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
अन्तर्राष्ट्रिय शाखा संयोजक गंगाधर गौतमको संयोजन र शाखा प्रमुखहरुको सक्रियतामा संकलन गरिएको रकमबाट राहत सामग्री वितरण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। यसका लागि विदेशस्थित प्रतिष्ठानका ३२ शाखाका सदस्यले करिब २० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको संयोजक गौतमले बताए। प्रतिबद्धता जनाइएको मध्ये १२ लाख रुपैयाँ काठमाडौंस्थित प्रतिष्ठानको नाममा जम्मा भइसकेको छ।
